बोलेरोमाथि ढुङ्गा खस्दा ज्येष्ठ नागरिकको मृत्यु



दोलखा,भदौ २८ । दोलखाको गौरीशङ्कर गाउँपालिका–६ चङ्खु दुम्सिदिङमा बोलेरो गाडीमा ढुङ्गा खस्दा एक ज्येष्ठ नागरिकको मृत्यु भएको छ ।

आइतबार बिहान मार्वुबाट सिङ्गटीतर्फ आउँदै गरेको बागमती प्रदेश ०८००१ च ०८८२ नम्बरको बोलेरो गाडीमा सडक माथिबाट खसेको ढुङ्गाले लाग्दा गाडीमा सवार ७५ वर्षीय मानबहादुर तामाङ गम्भीर घाइते हुनुभएको थियो ।

ढुङ्गाले लागेर तामाङको बायाँ खुट्टामा गम्भीर चोट लागेको थियो । उहाँलाई सिङ्गटीमा प्राथमिक उपचारपछि हेलिकप्टरमार्फत काठमाडौँस्थित शिक्षण अस्पताल लगिएको थियो । अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले उहाँलाई मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय दोलखाले जनाएको छ ।

प्रहरीका अनुसार बोलेरोमा चालकसहित तीन जना सवार थिए । घटनापछि बोलेरो चालक गौरीशङ्कर गाउँपालिका–७ मार्वुका टीकाराम गुरुङलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको प्रहरी निरीक्षक किरण लोप्चनले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्