मोटरसाइकलको ठक्करबाट पैदलयात्रीको मृत्यु
सुर्खेत,भदौ २८ । सुर्खेतको लेकबेसीमा मोटरसाइकलको ठक्करबाट एक पैदलयात्रीको मृत्यु भएको छ।
मृत्यु हुनेमा वीरेन्द्रनगर नगरपालिका–१० बरिपाटीकी ५५ वर्षीया आशा बुढा रहेकी छन्। उनको उपचारका क्रममा आज बिहान मृत्यु भएको प्रहरीले जनाएको छ।
इलाका प्रहरी कार्यालय लेकबेसीका अनुसार लेकबेसी नगरपालिका–१० झुप्राबाट भूतचोकतर्फ आउँदै गरेको भे ६ प ४७३ नम्बरको मोटरसाइकलले बुढालाई ठक्कर दिएको थियो। १७ वर्षीय मनोज आचार्यले चलाएको मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते बुढालाई उपचारका लागि सुरुमा माया नर्सिङ होम लगिएको थियो।
त्यहाँबाट प्रदेश अस्पताल सुर्खेत पुर्याइएकी बुढालाई थप उपचारका लागि नेपालगञ्ज रेफर गरिएको थियो। नेपालगञ्जमा उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। प्रहरीले मोटरसाइकल र चालक आचार्यलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

