स्थलगत सुझावलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रको नीति बनाउँछौँ : मन्त्री पोखरेल



सप्तरी,भदौ २८ । शिक्षा तथा खेलकुद मन्त्री सस्मिता पोखरेलले मधेसका जिल्लाका विद्यार्थी, अभिभावक, जनप्रतिनिधि तथा शिक्षाकर्मीबाट प्राप्त सुझावलाई प्राथमिकतामा राखेर शिक्षा क्षेत्रका नीति तथा कार्यक्रम अघि बढाइने बताउनुभएको छ।

सुझाव सङ्कलनका लागि राजविराजस्थित केशो अनिरुद्धवती माध्यमिक विद्यालय पुग्नुभएका मन्त्री पोखरेलले सप्तरीसहित मधेस प्रदेशका विभिन्न जिल्लाका विद्यालयमा स्थलगत निरीक्षण गरी विद्यार्थी, अभिभावक, शिक्षक तथा जनप्रतिनिधिका समस्या र सुझाव लिइने बताउनुभयो।

तीन दिनदेखि मधेस प्रदेशको भ्रमणमा रहनुभएका मन्त्री पोखरेलले नयाँ पाठ्यक्रम र शिक्षा ऐन तथा नियमावली निर्माणको क्रममा यथार्थमा आधारित सुझाव समेटिने बताउनुभयो। नयाँ पाठ्यक्रम कस्तो हुनुपर्छ र के सुधार आवश्यक छ भन्ने विषयमा सुझाव माग्दा सीपमा आधारित शिक्षालाई प्राथमिकता दिनुपर्ने सुझाव प्राप्त भएको उहाँले जानकारी दिनुभयो।

स्थलगत रूपमा समस्या बुझेर काम गर्दा समाधान खोज्न सहज हुने भएकाले अन्य प्रदेशमा पनि सुझाव सङ्कलन गरिने मन्त्री पोखरेलले बताउनुभयो।

यसैबीच, मधेस प्रदेश कृषि विश्वविद्यालयका रजिस्ट्रार डा. भगवान् ठाकुर नेतृत्वको टोलीले मन्त्री पोखरेललाई ज्ञापनपत्र बुझाएको छ। टोलीले प्रादेशिक विश्वविद्यालयलाई केन्द्रीय विश्वविद्यालयसरह मान्यता दिनुपर्ने, विश्वविद्यालय अनुदान आयोगलगायत निकायसँग सहयोग तथा समन्वय गर्नुपर्ने, एकीकृत प्रवेश परीक्षा सञ्चालन गर्नुपर्ने र प्रदेशमा स्थापना हुने कृषि कलेजलाई मधेस प्रदेश कृषि विश्वविद्यालयअन्तर्गत समावेश गर्नुपर्ने माग राखेको छ।

प्रतिक्रिया दिनुहोस्