भिरबाट लडेर महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु
बैतडी,भदौ २८ । बैतडीमा घाँस काट्ने क्रममा भिरबाट लडेर एक महिला स्वास्थ्य स्वयंसेविकाको मृत्यु भएको छ ।
सुर्नया गाउँपालिका–५ हरिचनकी अन्दाजी ३० वर्षीया गौरा मडैको आइतबार भिरबाट लडेर मृत्यु भएको हो । दिउँसो करिब १२ बजेको समयमा घर नजिकैको गोगनाडी खोला भीरमा घाँस काट्ने क्रममा लडेर गम्भीर घाइते हुनुभएकी मडैको अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु भएको रौलेश्वर स्वास्थ्यचौकीका इन्चार्ज नरेश मडैले जानकारी दिनुभयो ।
उहाँका अनुसार मडैको टाउकोमा गम्भीर चोट लागेको थियो । उपचारका लागि अस्पताल लैजाँदै गर्दा बाटोमै उहाँको मृत्यु भएको हो ।
मृतक मडै पाँच वर्षदेखि रौलेश्वर स्वास्थ्यचौकीमा महिला स्वास्थ्य स्वयंसेविकाका रूपमा कार्यरत हुनुहुन्थ्यो । उहाँका श्रीमान् र दुई छोरा छन् ।

