बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा



काठमाडौं,भदौ २८। बाढीका कारण क्षतिग्रस्त धादिङको जहरे सबस्टेसन मर्मतपछि पुनः सञ्चालनमा आएको छ।

गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीले जहरेखेतस्थित सबस्टेसनमा क्षति पुर्‍याएको थियो। बाढीका कारण सबस्टेसन क्षेत्रमा करिब १० फिटसम्म लेदोमाटोसहितको पानी जम्दा विद्युत् उपकरण तथा संरचनामा क्षति पुगेको थियो।

नेपाल विद्युत् प्राधिकरणले जनशक्ति, उपकरण र आवश्यक सामग्री परिचालन गरी तीव्र गतिमा मर्मत तथा पुनःस्थापनाको काम अघि बढाएको थियो। मर्मतपछि भदौ २८ गते दिउँसो २ बजेदेखि सबस्टेसन पुनः सञ्चालनमा ल्याइएको प्राधिकरणले जनाएको छ।

सबस्टेसन सञ्चालनमा आएसँगै गजुरी बजार, आदमघाट फिडरअन्तर्गतका २२ किलो क्षेत्र तथा पीडा फिडरअन्तर्गत किरान्चोक, मिलनटारलगायत क्षेत्रमा विद्युत् सेवा पुनःस्थापित भएको छ।

प्राधिकरणका अनुसार सबस्टेसन सञ्चालनमा आएसँगै प्रभावित क्षेत्रमा विद्युत् आपूर्ति क्रमशः सामान्य बन्दै गएको छ। नियमित र भरपर्दो विद्युत् सेवा सुनिश्चित गर्न आवश्यक मर्मत तथा पुनःस्थापनाको कामलाई प्राथमिकताका साथ अघि बढाइएको छ।

प्रतिक्रिया दिनुहोस्