बाढीले पुल बगाएपछि बेत्रावतीमा काठ र बाँसको फड्के
नुवाकोट,भदौ २९ । भोटेकोसी हुँदै त्रिशूली नदीमा यही भदौ १० गते आएको प्रलयकारी बाढीले नुवाकोट र रसुवाको सीमास्थल बेत्रावतीमा रहेका दुईवटा पक्की पुल एकैपटक बगाएपछि स्थानीयवासीले काठ र बाँसको फड्के निर्माण गरेका छन् । फड्के सञ्चालनमा आएपछि दुई जिल्लाबीच पैदल आवतजावत सहज भएको छ ।
स्थानीयवासीको पहलमा नुवाकोटको विदुर नगरपालिका–१० र रसुवाको उत्तरगया गाउँपालिका–५ जोड्ने गरी बेत्रावतीमा आइतबार साँझदेखि फड्के सञ्चालनमा ल्याइएको हो । बाढीले पुल बगाएपछि आवागमन ठप्प बनेको अवस्थामा स्थानीयवासी, नेपाली सेना, प्रहरी तथा सरोकारवालाको सहभागितामा अस्थायी रुपमा काठ र बाँस प्रयोग गरी फड्के निर्माण गरिएको हो ।
फड्के सञ्चालनमा आएपछि मानिसलाई नदी वारपार गर्न तथा राहत सामग्री बोकेर प्रभावित क्षेत्रमा लैजान सहज भएको छ । स्थायी पुल निर्माण नभएसम्मका लागि फड्केले नुवाकोट–रसुवा आवतजावतमा महत्वपूर्ण राहत पुर्याएको स्थानीयवासीले बताएका छन् ।
यसैबीच, ऐतिहासिक बेत्रावतीमा ७० मिटर लामो बेलिब्रिज निर्माण गरिने भएको छ । नुवाकोट र रसुवा जोड्ने गरी निर्माण हुने बेलिब्रिजका आवश्यक सामग्री भारतले उपलब्ध गराउने भएको हो । भारतीय पक्षले बेलिब्रिज निर्माणका सामग्री हस्तान्तरणसमेत सुरु गरेको छ ।
भारतीय राजदूत नवीन श्रीवास्तवले बेत्रावतीमा बेलिब्रिज निर्माणका लागि भारतबाट ल्याइएका पाटपुर्जाको पहिलो खेप सडक डिभिजनलाई हस्तान्तरण गर्नुभएको छ । बेलिब्रिज निर्माण सम्पन्न भएपछि बाढीका कारण प्रभावित बेत्रावती क्षेत्रमा यातायात आवागमन पुनः सहज हुने अपेक्षा गरिएको छ ।
बेत्रावती वीरगन्ज–गल्छी–देवीघाट–बेत्रावती हुँदै रसुवागढी जोड्ने महत्वपूर्ण सडकखण्डमा पर्छ । चीनसँगको सीमा नाका रसुवागढीसम्म जोडिने यस सडकलाई त्रिदेशीय व्यापारिक मार्गका रुपमा विकास गर्ने लक्ष्यसमेत राखिएको छ ।

