कृष्णभीरमा निर्माण गरिएको नयाँ सडक ट्याकको सफल परीक्षण, तीन दिनभित्र नियमित सञ्चालनको लक्ष्य
धादिङ,भदौ २९ । पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा पहिरो खसेर सडक पूर्णरूपमा अवरुद्ध भएपछि निर्माण गरिएको नयाँ सडक ट्याकको आइतबार सफल परीक्षण गरिएको छ ।
नागढुङ्गा–मुग्लिन सडक योजना (पश्चिम खण्ड) का सूचना अधिकारी इञ्जिनियर सचेन्द्र मिश्रका अनुसार नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि पहिलो चरणमा खाली ग्यास बुलेट सञ्चालन गरेर परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि क्रमशः अन्य सवारीसाधन पनि सञ्चालन गराइएको उहाँले जानकारी दिनुभयो ।
कार्यस्थलमा खटिनुभएका सहायक आवासीय इञ्जिनियर अशोक देवकोटाका अनुसार सुरुमा खाली ग्यास बुलेट दुवैतर्फ पठाएर सडकको अवस्था परीक्षण गरिएको थियो । परीक्षण सफल भएपछि पालैपालो अन्य सवारीसाधन पास गराइएको हो । उहाँका अनुसार परीक्षणका क्रममा नयाँ ट्याकबाट करिब ५० वटा सवारीसाधन सञ्चालन गरिएका छन् ।
निरन्तर भित्ता काटेर निर्माण गरिएको नयाँ ट्याकको ग्रेडिङ सम्पन्न भएपछि हिजो परीक्षण गरिएको हो । देवकोटाका अनुसार आजदेखि नयाँ ट्याकमा ग्राभेल बिछ्याउने काम सुरु हुँदैछ ।त्यससँगै नाली निर्माण, पानी सोस्ने तथा तर्काउने व्यवस्था मिलाउने र सडकमाथि देखिएका चिरा पुर्ने कामसमेत अघि बढाइनेछ ।
“थप समस्या नआएमा तीन दिनभित्र यी काम सकाएर नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने लक्ष्य छ,” उहाँले भन्नुभयो ।सूचना अधिकारी मिश्रका अनुसार नयाँ ट्याक करिब २५२ मिटर लामो छ । सडकको चौडाइ सात मिटर र नाली एक मिटर चौडा छ । पुरानो सडक भासिएको स्थानभन्दा नयाँ ट्याक पाँचदेखि १० मिटर उचाइमा निर्माण गरिएको छ ।
मिश्रका अनुसार हालसम्म निर्माणका क्रममा थप समस्या देखिएको छैन । मौसमले साथ दिएमा र थप समस्या नआएमा तीन–चार दिनभित्र आवश्यक काम सम्पन्न गरी नयाँ ट्याकबाट नियमित रूपमा सवारीसाधन सञ्चालन गर्ने योजना छ ।

