हरितालिकामा पशुपतिनाथमा बिहानैदेखि व्रतालु महिलाको घुइँचो, चारै ढोका खुला
काठमाडौँ,भदौ २९। हरितालिका तीजका अवसरमा पशुपतिनाथ मन्दिरमा दर्शन गर्न आउने व्रतालु महिलाको बिहानैदेखि घुइँचो लागेको छ। भक्तजनको सहजताका लागि पशुपतिनाथ मन्दिरका चारवटै ढोका बिहान ३ बजेदेखि खुला गरिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ।
भक्तजनलाई सहज रूपमा दर्शन गराउन चारवटा छुट्टाछुट्टै दर्शन मार्गको व्यवस्था गरिएको कोषका सदस्यसचिव तीर्थ श्रेष्ठले जानकारी दिनुभयो। पहिलो मार्ग मित्रपार्क–उमाकुण्ड–दक्षिणामूर्ति–कैलाश बद्रीनरसिंह भवन हुँदै वासुकीनाथको उत्तरतर्फको ढोकाबाट मन्दिर प्रवेश गराई उत्तरतर्फको ¥याम्पबाट दर्शन गराएर पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था गरिएको छ।
दोस्रो मार्ग जयवागेश्वरीबाट दथुटोल, पाचा गणेश, अन्नपूर्ण भण्डार हुँदै महास्नानघरअघिको आकाशे पुलबाट भुवनेश्वरी, नासलचोक हुँदै शङ्कराचार्य मठअघिको आकाशे पुलबाट प्रहरी पहरा गणको सानो ढोकाबाट दुई लाइनमा भक्तजन प्रवेश गर्ने व्यवस्था गरिएको छ। उनीहरूलाई पशुपतिनाथको पश्चिमतर्फको काठको ¥याम्पबाट दर्शन गराई पश्चिम ढोकाबाट बाहिरिने व्यवस्था मिलाइएको छ।
सिनामङ्गल तथा विमानस्थलतर्फबाट आउने भक्तजनका लागि तिलगङ्गा पर्यटन काउन्टरसँगैको ढोका, राममन्दिर र वाग्मती किनार हुँदै आर्यघाटको पुलबाट ब्रह्मनालसम्म पुग्ने मार्ग तोकिएको छ। त्यहाँबाट पूर्वढोकाको ¥याम्प हुँदै पशुपतिनाथको पूर्वी मुहारको दर्शन गराई सोही ढोकाबाट फर्कने व्यवस्था गरिएको छ।
त्यस्तै, पिङ्गलास्थानतर्फबाट आउने भक्तजनका लागि पिङ्गलास्थानको ढोकाबाट प्रवेश गरी चार शिवालय, पञ्चदेवल वृद्धाश्रमको दक्षिणतर्फको ठूलो ढोकाअघि बनाइएको अस्थायी आकाशे पुल हुँदै चौँसट्ठी कोटीलिङ्गेश्वरबाट मन्दिरको दक्षिण मुहारको दर्शन गर्ने व्यवस्था गरिएको छ। दर्शनपछि उन्मत्त भैरव मन्दिरको पश्चिमतर्फबाट मूलभट्ट निवासअघिको मार्ग हुँदै फर्कने व्यवस्था मिलाइएको छ।
बिहानको समयमा भक्तजनले सहज रूपमा लाममा बसेर पशुपतिनाथको दर्शन गरिरहेका छन्। कोषका अनुसार बिहान लाममा बसेका व्रतालुले करिब आधा घण्टामै दर्शन गरेर फर्कन सक्ने अवस्था रहेको छ। भदौरे झरीका बीच पनि भक्तजन उत्साहका साथ लाममा बसेर दर्शन गरिरहेका छन्।
तीज पर्वलाई लक्षित गरी पशुपति क्षेत्रमा चार हजार सुरक्षाकर्मी परिचालन गरिएको छ भने २४ वटा धार्मिक तथा सामाजिक संस्थाका ८५५ जना स्वयंसेवक पनि खटाइएको कोषले जनाएको छ। दर्शनार्थीका लागि सानो सदावर्त सत्तल, तिलगङ्गा, उमाकुण्ड, जयवागेश्वरी र गौशालामा चन्दन वितरणको व्यवस्था गरिएको छ।
हरितालिकाका अवसरमा पशुपतिनाथसहित देशभरका शिवालयमा पूजा तथा दर्शन गर्ने भक्तजनको भीड लागेको छ। काठमाडौँ उपत्यकाका गोकर्णेश्वर, नागेश्वर, वसन्तपुर दरबार क्षेत्रस्थित मक्खन महादेव, डोलेश्वर र त्रिपुरेश्वरलगायतका महादेव मन्दिरमा पनि बिहानैदेखि भक्तजनको लाम लागेको जनाइएको छ।

