भोटेकोशी बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल



काठमाडौं,भदौ २९। प्रधानमन्त्री वालेन्द्र शाहले भोटेकोशी बाढीपछि विपद् संकटग्रस्त क्षेत्र घोषणा गरिएका विभिन्न जिल्ला र स्थानीय तहका जनप्रतिनिधिसँग छलफल सुरु गर्नुभएको छ।

प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय, सिंहदरबारमा सोमबार बिहान ११ बजेदेखि नुवाकोट, रसुवा, धादिङ, गोरखा र तनहुँका विपद् प्रभावित १५ स्थानीय तहका प्रमुख तथा प्रतिनिधिसभा सदस्यहरूसँग प्रधानमन्त्री शाहले छलफल गर्नुभएको हो।

छलफलमा भोटेकोशी तथा त्रिशूली नदीमा आएको बाढीपछि प्रभावित क्षेत्रमा उत्पन्न अवस्थाको समीक्षा गरिनेछ। साथै, हालको परिस्थिति, प्रभावित नागरिकको अवस्था, तत्काल चाल्नुपर्ने कदम तथा पुनरुत्थानका विषयमा जनप्रतिनिधिहरूसँग सुझाव लिने र आवश्यक योजना बनाउने विषयमा छलफल केन्द्रित रहनेछ।

बाढीबाट भएको जनधनको क्षति, विस्थापितको व्यवस्थापन, क्षतिग्रस्त भौतिक संरचनाको पुनर्निर्माण तथा प्रभावित क्षेत्रमा राहत र पुनःस्थापनाका लागि आवश्यक पहललगायतका विषयसमेत छलफलमा उठ्ने जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्