टाेखा–१ झोरबाट उत्तरगया बाढीपीडितका लागि राहत हस्तान्तरण
रसुवा,भदौ २९। टाेखा नगरपालिका–१ झोरका स्थानीयवासी, राजनीतिक दलका प्रतिनिधि तथा विभिन्न संघसंस्थाको सहयोगमा संकलन गरिएको राहत सामग्री उत्तरगया गाउँपालिकालाई हस्तान्तरण गरिएको छ।
टाेखा नगरपालिका–१ का वडा अध्यक्ष रमेशकुमार लामिछानेसहित वडा जनप्रतिनिधि, राजनीतिक दलका प्रतिनिधि, संघसंस्थाका पदाधिकारी तथा वडा विपद् व्यवस्थापन समितिका पदाधिकारीले संकलित राहत सामग्री उत्तरगया गाउँपालिकाका अध्यक्ष माधव अर्याललाई हस्तान्तरण गरेका हुन्।
राहत सामग्री बुझ्दै अध्यक्ष अर्यालले विपद्को कठिन समयमा टाेखा नगरपालिका–१ झोरवासीले गरेको सहयोगप्रति आभार व्यक्त गर्नुभयो। उहाँले भन्नुभयो, “यो विपद्को समयमा झोरवासीले हाम्रो लागि यति धेरै सहयोग गर्नुभएको छ, योभन्दा ठूलो कुरा अरू केही छैन।”
उहाँले राहत सामग्री स्थानीय सरकारको एकद्वार प्रणालीमार्फत वास्तविक पीडित परिवारसम्म पुर्याउने उद्देश्यले व्यवस्थापन भइरहेको बताउनुभयो। पीडितको मनोभावनालाई बुझ्दै राहत सामग्री सिधै परिवारलाई वितरण गर्नुभन्दा स्थानीय तहको समन्वयमा आवश्यकताका आधारमा वितरण गर्ने व्यवस्था गरिएको उहाँको भनाइ छ।
अध्यक्ष अर्यालका अनुसार उत्तरगया गाउँपालिकाका वडा नं. २, ३ र ४ मा यातायातको सहज पहुँच नहुँदा राहत सामग्री पुर्याउन कठिन भइरहेको छ। ती क्षेत्रमा आवश्यक राहत सामग्री हेलिकप्टरमार्फत पुर्याउने काम भइरहेको उहाँले जानकारी दिनुभयो।
राहत हस्तान्तरणका क्रममा वडा अध्यक्ष लामिछानेले विपद्को समयमा झोरवासी, राजनीतिक दल, संघसंस्था तथा सहयोगी मनहरूबाट प्राप्त सहयोगप्रति धन्यवाद व्यक्त गर्नुभयो। उहाँले राहत संकलनदेखि वितरणसम्मको अभियानलाई “मनसँग मन साट्ने काम” भएको बताउँदै सहयोग गर्ने सबैप्रति आभार प्रकट गर्नुभयो।

