बाढी प्रभावित क्षेत्रको पुनःस्थापनाका लागि प्रधानमन्त्रीसँग विदुर नगरप्रमुख श्रेष्ठको आग्रह
काठमाडौं,भदौ ३०। भोटेकोशी बाढीबाट प्रभावित नुवाकोटको विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठसहित प्रभावित क्षेत्रका जनप्रतिनिधिले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) र सरकारका मन्त्रीहरूसँग संयुक्त भेटवार्ता गरेका छन्। भेटमा बाढीबाट प्रभावित क्षेत्रमा भएको क्षति, खोज तथा उद्धार, राहत वितरण, होल्डिङ सेन्टर सञ्चालन तथा पुनःउत्थानका लागि भइरहेका प्रयासबारे जानकारी गराइएको छ।
प्रधानमन्त्रीसँगको सोमबारको भेटमा नगरप्रमुख श्रेष्ठले बाढी प्रभावित क्षेत्रमा आवतजावत सुचारु गराउन स्थानीय सरकारले सक्दो प्रयास गरिरहेको जानकारी गराउँदै क्षतिग्रस्त सडक, पुललगायतका संरचना पुनःनिर्माण तथा सञ्चालनका लागि माथिल्लो सरकारको सहयोग आवश्यक रहेको बताउनुभयो।
उहाँले बाढी प्रभावित नागरिकलाई सेल्टरबाट अस्थायी आवास हुँदै स्थायी आवासमा स्थानान्तरण गर्ने प्रक्रिया अघि बढाइएको जानकारी दिनुभयो। त्यसका लागि नगरपालिकाले घरभाडाबापत मासिक १० हजार रुपैयाँसहित आवश्यक सामग्री उपलब्ध गराउन सुरु गरेको बताउनुभयो।
बाढीबाट पूर्णरूपमा क्षति पुगेका विद्यालयसहित नगरभित्रका सम्पूर्ण विद्यालयमा क्रमशः पठनपाठन सुरु गरिसकिएको पनि नगरप्रमुख श्रेष्ठले जानकारी गराउनुभयो।
त्यस्तै, बाढीबाट क्षति पुगेका जग्गाजमिनलाई राज्यले खोलाको क्षेत्र कायम गर्ने हो भने त्यसको बराबर क्षेत्रफलको सुरक्षित स्थानमा रहेको सरकारी तथा सार्वजनिक जग्गा प्रभावितलाई उपलब्ध गराउनुपर्ने उहाँको सुझाव थियो। घर निर्माणका लागि सरकारले उपयुक्त सहयोग रकम यथाशीघ्र घोषणा गरी उपलब्ध गराउने व्यवस्था गर्नुपर्ने माग पनि उहाँले प्रधानमन्त्रीसमक्ष राख्नुभयो।
भेटमा बाढीपछिको पुनःस्थापना, पूर्वाधार पुनःनिर्माण र प्रभावित नागरिकलाई स्थायी रूपमा सुरक्षित स्थानमा व्यवस्थापन गर्ने विषयमा समेत छलफल भएको जनाइएको छ।
प्रधानमन्त्रीसँगको भेटमा गृहमन्त्री सुधन गुरुङ, सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिना, नुवाकोट–२ का सांसद डा. अच्युतम लामिछाने लगायतको सहभागिता थियो।

