पुल नबनेसम्म त्रिशुली बसपार्क जोड्न जिपलाइन सञ्चालनमा आयो



नुवाकोट, भदौ ३० । विदुर नगरपालिका–१ इन्द्रायणीचौरबाट साविक त्रिशुली बसपार्कसम्म सहज आवतजावतका लागि जिपलाइन सेवा सञ्चालनमा ल्याइएको छ।

आजदेखि सञ्चालनमा आएको जिपलाइनमार्फत इन्द्रायणीचौरबाट त्रिशुली नदीको पारीतर्फ करिब ३० देखि ३५ सेकेन्डमै पुग्न सकिने व्यवस्था गरिएको छ। एकपटकमा एक जनाले मात्र यात्रा गर्न मिल्ने गरी जिपलाइन सञ्चालन गरिएको हो।

नदी वारपारका लागि पुल निर्माण नभएसम्म तथा अन्य वैकल्पिक आवतजावतको व्यवस्था नहुँदासम्म जिपलाइन सेवा निरन्तर सञ्चालन गर्ने व्यवस्था मिलाइएको जनाइएको छ। यसबाट स्थानीय बासिन्दा तथा आवतजावत गर्ने सर्वसाधारणलाई सहज हुने अपेक्षा गरिएको छ।

जिपलाइन सञ्चालनका लागि प्राविधिक सहयोग तथा सहजीकरण विदुर नगरपालिकाका नगरप्रमुख राजन श्रेष्ठको आग्रहमा दरबार एडभेन्चर जिपलाइन लज, नुवाकोटमार्फत गरिएको जनाइएको छ।

प्रतिक्रिया दिनुहोस्