बाढी–पहिरो पीडितको उद्धार, राहत र पुनःस्थापनामा सरकार गम्भीर बन्न सांसदको माग



काठमाडौं,भदौ ३०। प्रतिनिधिसभाको आजको बैठकमा सांसदहरूले पछिल्लो समय अविरल वर्षासँगै देशका विभिन्न जिल्लामा आएको बाढी, पहिरो तथा सडक दुर्घटनाबाट भएको जनधनको क्षतिप्रति सरकारको ध्यानाकर्षण गराएका छन्।

सांसदहरूले बाढी, पहिरो तथा सडक दुर्घटनामा परी घाइते भएकाहरूको निःशुल्क उपचारको व्यवस्था गर्न, बेपत्ता नागरिकको खोजी तथा उद्धारलाई तीव्र बनाउन र प्रभावित परिवारलाई तत्काल राहत उपलब्ध गराउन माग गरेका छन्। उनीहरूले विपद् प्रभावितको दीर्घकालीन पुनःस्थापनाका लागि समेत आवश्यक योजना बनाउन सरकारलाई आग्रह गरेका छन्।

सडक दुर्घटना न्यूनीकरणका लागि सडक पूर्वाधार सुधार, सवारीसाधनको नियमित प्राविधिक जाँच तथा राजमार्ग र स्थानीय सडकको जोखिम पहिचान गरी समयमै मर्मत गर्न तीनै तहका सरकार गम्भीर बन्नुपर्ने सांसदहरूको भनाइ थियो।

यस्तै, भोटेकोशी बाढीमा परी मृत्यु भएकाहरूका परिवारलाई राहत उपलब्ध गराउन, बाढीका कारण अभिभावकविहीन भएका बालबालिकाको हेरचाह तथा शिक्षाका लागि विशेष प्याकेज ल्याउन र बाढीले बगाएका तथा क्षति पुर्‍याएका पुलको पुनःनिर्माण तीव्र बनाउन सांसदहरूले माग गरेका छन्। घरबारविहीन भएका नागरिकको पुनःस्थापनामा पनि सरकारले विशेष प्राथमिकता दिनुपर्ने उनीहरूको भनाइ थियो।

बैठकमा सांसदहरूले वीरेन्द्र सैनिक अस्पताल, छाउनीमा सघन उपचार कक्षमा उपचाररत बाढी प्रभावितसँग अन्तर्वार्ता गरिएको विषयमा समेत आपत्ति जनाएका छन्। बिरामीको स्वास्थ्य अवस्था, गोपनीयता तथा संक्रमण नियन्त्रणको विषयलाई गम्भीरतापूर्वक लिन सरकारको ध्यानाकर्षण गराउँदै उनीहरूले अस्पतालमा उपचाररत बिरामीको संवेदनशीलतालाई प्राथमिकता दिन आग्रह गरेका छन्।

प्रतिक्रिया दिनुहोस्