भक्तपुरमा पनि रात्रिकालीन साझा बस सञ्चालनको पहल, ६ वटा बस चलाउने योजना



काठमाडौं,भदौ ३० । भक्तपुर जिल्लामा पनि रात्रिकालीन साझा यातायात सञ्चालनका लागि पहल सुरु भएको छ। काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डङ्गोलले मध्यपुरथिमि नगरपालिका प्रमुख सुरेन्द्र श्रेष्ठ र भक्तपुर नगरपालिका प्रमुख सुनिल प्रजापतिसँग छुट्टाछुट्टै छलफल गर्दै भक्तपुरसम्म रात्रिकालीन साझा यातायात विस्तार गर्न प्रस्ताव गर्नुभएको हो।

छलफलका क्रममा कार्यवाहक प्रमुख डङ्गोलले काठमाडौँ र ललितपुरका स्थानीय तहको साझेदारीमा सञ्चालन भइरहेको रात्रिकालीन साझा यातायात सेवालाई भक्तपुरसम्म विस्तार गर्न आग्रह गर्नुभएको थियो। साझेदारीमा सेवा सञ्चालन गर्ने विषयमा मध्यपुरथिमि र भक्तपुर नगरपालिका दुवै सकारात्मक देखिएका छन्।

मध्यपुरथिमि नगरपालिका प्रमुख श्रेष्ठले नागरिकलाई सुरक्षित, सहज र भरपर्दो यातायात सेवा उपलब्ध गराउन स्थानीय तहबीच सहकार्य गर्दै रात्रिकालीन सार्वजनिक यातायात सञ्चालन गर्न प्रतिबद्ध रहेको बताउनुभयो। उहाँले रात्रिकालीन यातायात सञ्चालन हुँदा आर्थिक गतिविधि बढ्नुका साथै निजी तथा सरकारी क्षेत्रमा रातिको समयमा काम गर्ने कर्मचारी तथा कामदारलाई आवतजावतमा सहज हुने बताउनुभयो।

भक्तपुर नगरपालिकाका प्रमुख प्रजापतिले भक्तपुरमा विगतमा ट्रली बस सञ्चालन भएको अनुभव स्मरण गर्दै रात्रिकालीन साझा बस सेवा जनतासँग प्रत्यक्ष जोडिएको विषय भएको बताउनुभयो। उहाँले सेवा विस्तारका लागि सकारात्मक पहल आवश्यक रहेको धारणा राख्नुभयो।

साझा यातायात सञ्चालक समितिका अनुसार सहमति भए ठमेल, रत्नपार्क, कोटेश्वर, जडीबुटी हुँदै भक्तपुरतर्फ अरनिको राजमार्गअन्तर्गत लोकन्थलीदेखि जगातीसम्म रात्रिकालीन बस सेवा सञ्चालन गर्ने योजना छ। प्रारम्भिक योजनाअनुसार राति ८ बजेदेखि १२ बजेसम्म ६ वटा बस सञ्चालन गर्ने तयारी गरिएको छ।

छलफलमा साझा यातायात सञ्चालक समितिका अध्यक्ष सुशिल प्याकुरेल, कार्यकारी निर्देशक भुपेन्द्र अर्याललगायतको सहभागिता रहेको थियो।

प्रतिक्रिया दिनुहोस्