भोटेकोशी बाढीपछि खोज तथा उद्धार प्रभावकारी हुन नसकेको एमाले उपनेता अर्यालको आरोप



काठमाडौं,भदौ ३० । नेकपा एमाले संसदीय दलका उपनेता पद्मा कुमारी अर्यालले भोटेकोशी बाढीपछि खोज तथा उद्धारका काम प्रभावकारी रूपमा अघि बढाउन नसक्दा थप क्षति व्यहोर्नुपरेको बताउनुभएको छ।

प्रतिनिधिसभाको आजको बैठकमा समय लिएर बोल्दै उपनेता अर्यालले बाढीपछि तत्काल सार्वजनिक आह्वान तथा अनुरोध गर्नुपर्ने र कूटनीतिक पहलमार्फत सहयोग माग्नुपर्नेमा सरकार चुकेको बताउनुभयो। उहाँले विद्यालय तथा क्याम्पसमा रहेका इन्जिनियर र विभिन्न क्षेत्रका विज्ञसँग समन्वय गरी खोज तथा उद्धारमा परिचालन गर्न नसकिएको पनि उल्लेख गर्नुभयो।

विपत्तिमा आफन्त गुमाएका नागरिकले आफ्ना आफन्तको खोजी गरिदिन माग गर्दा सरकारलाई असफल बनाउन खोजिएको भन्ने अभिव्यक्ति दिनु गैरजिम्मेवार विषय भएको अर्यालको टिप्पणी थियो। उहाँले विपद्मा परेका नागरिकको पीडालाई सरकारले गम्भीरतापूर्वक सम्बोधन गर्नुपर्ने बताउनुभयो।

उपनेता अर्यालले बाढीबाट घाइते भएकाहरूको निःशुल्क उपचारको अवस्था, अङ्गभङ्ग भएकाहरूका लागि दीर्घकालीन उपचारको व्यवस्था, अभिभावक गुमाएका बालबालिकाको आधिकारिक विवरण तथा उनीहरूको संरक्षण, लालनपालन र शिक्षाको व्यवस्थाबारे संसदलाई जानकारी गराउन सरकारसँग माग गर्नुभयो।

त्यस्तै, क्षतिग्रस्त विद्यालयका विद्यार्थीको शैक्षिक अभिलेख नष्ट भएको अवस्थामा उनीहरूको अध्ययनलाई निरन्तरता दिन वैकल्पिक व्यवस्था गर्नुपर्ने उहाँको भनाइ थियो। विपद्का कारण विद्युत्, सञ्चार र पुललगायतका अत्यावश्यक सेवा अवरुद्ध भएको उल्लेख गर्दै अर्यालले नागरिकलाई अत्यावश्यक सेवासँग जोड्ने स्पष्ट कार्ययोजना तत्काल सार्वजनिक गर्न सरकारसँग आग्रह गर्नुभयो।

विपत्तिको सामना गर्न सबै पक्ष एकजुट भएर अघि बढ्नुपर्नेमा जोड दिँदै उहाँले खोज, उद्धार तथा पुनःस्थापनाको कामलाई प्रभावकारी बनाउन संसदीय विशेष समिति गठन गर्नसमेत सरकारसँग माग गर्नुभयो। आवश्यक सहयोग गर्न आफूहरू तयार रहेको उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्