दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको सकुशल उद्धार



धनुषा,भदौ ३० । धनुषाको बिदेह नगरपालिकाबाट करिब दुई साताअघि अपहरणमा परेका १५ महिने बालकको प्रहरीले सकुशल उद्धार गरेको छ।

भदौ १८ गते अपहरणमा परेका बिदेह नगरपालिका–६ का कमलेश महतोका १५ महिने छोरा सिद्धान्त महतोलाई गएराति बिदेह नगरपालिका–१ स्थित दशगज्जा क्षेत्रबाट सकुशल उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय धनुषाले पत्रकार सम्मेलनमार्फत जानकारी दिएको हो।

प्रहरीका अनुसार बालकलाई छाडेर भाग्दै गरेको अवस्थामा कमला नगरपालिका–९ की पुनितादेवी पासवानलाई पक्राउ गरिएको छ।जिल्ला प्रहरी कार्यालय धनुषाका प्रवक्ता प्रहरी नायब उपरीक्षक ओमप्रकाश खनालले बालक अपहरणमा परेको सूचना प्राप्त भएलगत्तै तालिमप्राप्त कुकुरसहित प्रहरी टोली परिचालन गरी खोजतलास तथा अनुसन्धान अघि बढाइएको बताउनुभयो।

खोजीका क्रममा बालकलाई राखिएको स्थानमा प्रहरी टोली पुगेपछि बालकलाई छाडेर भाग्न खोज्दै गरेकी पासवानलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ। सकुशल उद्धार गरिएका बालकलाई अभिभावकको जिम्मा लगाइएको छ।

पक्राउ परेकी पासवानविरुद्ध अपहरण, शरीर बन्धक तथा मानव बेचबिखन र ओसारपसारसम्बन्धी अभियोगमा मुद्दा दर्ता गरी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्