कोशी प्रदेशका दुई सचिवको पदस्थापन, भोटेकोशी बाढीपीडितका लागि सात दिनको पारिश्रमिक दिने निर्णय
विराटनगर, भदौ ३१ । कोशी प्रदेश सरकार मन्त्रिपरिषद्को मंगलबार बसेको बैठकले प्रदेश सचिव दिवस आचार्यलाई प्रदेश लोकसेवा आयोग र सचिव आसमान तामाङलाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा पदस्थापन गर्ने निर्णय गरेको छ।
प्रदेश सरकारका प्रवक्ता एवं आन्तरिक मामिला तथा कानुनमन्त्री गोम्बु शेर्पाका अनुसार बैठकले कोशी प्रदेशमा उत्पादित वस्तुको निर्यात सम्भावना अध्ययन कार्यदलको म्याद ६० दिन थप गर्ने निर्णय गरेको छ। उक्त कार्यदलको म्याद थपसम्बन्धी निर्णय गत असार २९ गतेको मन्त्रिपरिषद् बैठकले गरेको थियो।
बैठकले कोशी प्रदेश सरकार सञ्चालनसम्बन्धी न्यूनतम साझा कार्यक्रम–२०८३ लाई उच्च प्राथमिकताका साथ कार्यान्वयन गर्न सबै मन्त्रालयलाई लेखी पठाउने निर्णयसमेत गरेको छ।
यस्तै, भदौ १० गते रसुवाको भोटेकोशीमा गएको बाढीबाट प्रभावितका लागि राहत तथा पुनःस्थापना कार्यमा सहयोग पुर्याउन मन्त्रिपरिषद् र मन्त्रिपरिषद् सचिवालयका पदाधिकारीहरूको सात दिनको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप राहत कोषमा जम्मा गर्ने निर्णय भएको मन्त्री शेर्पाले जानकारी दिनुभयो।

