बङ्गलादेशमा आवामी लिगका सात नेतालाई मृत्युदण्ड



ढाका, भदौ ३० । बङ्गलादेशको अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले सन् २०२४ को विद्यार्थी नेतृत्वको जनविद्रोह दबाउने क्रममा मानवताविरुद्धको अपराध गरेको अभियोगमा पूर्वसत्ताधारी दल आवामी लिगका सात वरिष्ठ नेतालाई अनुपस्थितिमै मृत्युदण्ड सुनाएको छ।

मृत्युदण्ड पाउनेमा आवामी लिगका पूर्वमहासचिव तथा पूर्वसडक यातायातमन्त्री ओबैदुल कादेर, पूर्वउपमहासचिव एएफएम बहाउद्दिन नसिम, पूर्वसूचना तथा प्रसारण राज्यमन्त्री मोहम्मद अली अराफात, युवा लिगका अध्यक्ष शेख फजले शम्स पराश, महासचिव माइनुल हुसेन खान निखिल तथा छात्र लिगका अध्यक्ष सद्दाम हुसेन र महासचिव शेख वली आसिफ इनान छन्।

न्यायाधीश नजरुल इस्लाम चौधरीको नेतृत्वमा रहेको तीन सदस्यीय अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण–२ ले मंगलबार फैसला सुनाएको हो। उनीहरूलाई हत्या, मानवताविरुद्धको अपराध तथा हत्याका लागि उक्साउनेलगायत अभियोगमा दोषी ठहर गरिएको छ।

सरकारी मुख्य अभियोजक मोहम्मद अमिनुल इस्लामले फैसलाप्रति खुसी व्यक्त गर्दै अभियोगहरू प्रमाणित भएकाले मृत्युदण्ड सुनाइएको बताउनुभएको छ। उहाँका अनुसार दोषीहरू फरार रहेकाले उनीहरूको स्थान पहिचान भएपछि पक्राउ गरी बङ्गलादेश ल्याउने प्रयास गरिनेछ। फैसलाविरुद्ध अपिलका लागि ३० दिनको समय रहेको पनि उहाँले बताउनुभएको छ।

अदालतले मृत्युदण्ड सुनाइएकामध्ये पाँच जनाको चल–अचल सम्पत्तिको ५० प्रतिशत जफत गरी सन् २०२४ को आन्दोलनमा मारिएका तथा घाइतेका परिवारलाई क्षतिपूर्तिका रूपमा उपलब्ध गराउन आदेश दिएको छ।

संयुक्त राष्ट्रसङ्घका अनुसार सन् २०२४ को जुलाई र अगस्टमा विद्यार्थी नेतृत्वको आन्दोलन दबाउने क्रममा तत्कालीन प्रधानमन्त्री शेख हसिनाको सरकारको कारबाहीबाट करिब एक हजार चार सय जनाको मृत्यु भएको थियो। आन्दोलन चर्किएपछि हसिनाको १५ वर्ष लामो शासनको अन्त्य भएको थियो र उहाँ हेलिकप्टरमार्फत भारत पुगेकी थिइन्।

यसअघि हसिनालाई पनि सन् २०२५ को नोभेम्बरमा मानवताविरुद्धको अपराधसम्बन्धी मुद्दामा अनुपस्थितिमै मृत्युदण्ड सुनाइएको थियो। हसिनाले भने न्यायाधिकरणको अधिकार क्षेत्र स्वीकार नगर्ने बताउँदै आएकी छन्।

राज्यद्वारा नियुक्त प्रतिरक्षा वकिल एम हसन इमामले सातै जना प्रत्यक्ष रूपमा हत्यामा संलग्न नभएको दाबी गर्दै उनीहरूमाथि सहकर्मी कार्यकर्ता तथा समर्थकका गतिविधिका आधारमा दोषारोपण गरिएको जिकिर गर्नुभएको छ।

मंगलबारको फैसलासँगै सन् २०२४ को आन्दोलनसँग सम्बन्धित मुद्दामा दोषी ठहर हुनेहरूको सङ्ख्या ६८ पुगेको छ। तीमध्ये २२ जनालाई मृत्युदण्ड सुनाइएको बङ्गलादेशी सञ्चारमाध्यमहरूले जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्