एसीसी प्रिमियर कप विजेता नेपाली टोलीलाई विराटनगर किङ्सको नगद पुरस्कार घोषणा
काठमाडौं,भदौ ३१ । एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ का लागि छनोट हुन सफल नेपाली राष्ट्रिय क्रिकेट टोलीलाई नेपाल प्रिमियर लिग (एनपिएल) टोली विराटनगर किङ्सले नगद पुरस्कार घोषणा गरेको छ।
नेपाली क्रिकेट टोलीको उत्कृष्ट प्रदर्शन, समर्पण र योगदानको कदर गर्दै विराटनगर किङ्सले राष्ट्रिय टोलीका प्रत्येक खेलाडी तथा सहयोगी स्टाफ सदस्यलाई जनही ५० हजार रुपैयाँ प्रदान गर्ने जनाएको छ।
प्रिमियर कपमा उत्कृष्ट प्रदर्शन गर्दै ‘प्लेयर अफ दि टुर्नामेन्ट’ घोषित भएका नेपाली टोलीका कप्तान तथा विराटनगर किङ्सका मार्की खेलाडी सन्दीप लामिछानेलाई भने सम्मानस्वरूप थप १ लाख रुपैयाँ प्रदान गरिने भएको छ।
विराटनगर किङ्सले नेपाली क्रिकेटको विकास, खेलाडीको मनोबल वृद्धि तथा राष्ट्रिय टोलीको सफलतामा साथ दिने उद्देश्यले पुरस्कार घोषणा गरिएको जनाएको छ।
नेपाली टोलीले मलेसियामा हालै सम्पन्न एसीसी प्रिमियर कप २०२६ को उपाधि जित्दै एसिया कप २०२७ मा स्थान सुरक्षित गरेको थियो। विराटनगर किङ्सले नेपाली टोलीका खेलाडी, प्रशिक्षक तथा सहयोगी स्टाफलाई बधाई दिँदै आगामी प्रतियोगिताका लागि शुभकामना व्यक्त गरेको छ।

