भोटेकोशी बाढीमा मृतकको संख्या एक हजार ३९९ पुग्यो, पाँच हजार १७९ अझै बेपत्ता
काठमाडौं,भदौ ३१ । भोटेकोशी बाढीमा परी हालसम्म एक हजार ३९९ जनाको शव फेला परेको छ भने पाँच हजार १७९ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले जनाएको छ।
प्राधिकरणले मंगलबार साँझ सार्वजनिक गरेको विवरणअनुसार सबैभन्दा धेरै चितवनमा ३६४ जनाको शव फेला परेको छ। यस्तै नवलपरासी पूर्वमा २३२, नवलपरासी पश्चिममा २२२, नुवाकोटमा २०२, रसुवामा १८९, गोरखामा ७८, धादिङमा ७२ र तनहुँमा ३८ जनाको शव फेला परेको छ। उपचारका क्रममा काठमाडौँमा दुई जनाको मृत्यु भएको प्राधिकरणले जनाएको छ।
हालसम्म फेला परेका शवमध्ये १०४ जनाको सनाखत भइसकेको छ। सनाखत हुन बाँकी शवको पहिचानका लागि डिएनए परीक्षणलगायत प्रक्रिया अघि बढाइएको प्राधिकरणले जनाएको छ।
प्राधिकरणका प्रवक्ता शान्ति महतका अनुसार बाढीपछि हालसम्म १३ हजार ७४२ जनाको उद्धार गरिएको छ। प्रभावित क्षेत्रमा स्वास्थ्य मन्त्रालयमार्फत १५० जना परामर्शदाता परिचालन गरिएको छ।
नेपाल प्रहरीले सञ्चालन गरेका १६६ वटा सामुदायिक जनचेतना कार्यक्रममार्फत ४५ हजार २३८ जनालाई परामर्श प्रदान गरिएको प्रवक्ता महतले जानकारी दिनुभयो।
बाढीबाट विस्थापित तथा प्रभावित नागरिकलाई सुरक्षित स्थानमा राख्दै आधारभूत आवश्यकता पूरा गर्न राज्यका विभिन्न निकायले राहत तथा व्यवस्थापनको कामलाई निरन्तरता दिएका छन्। सुरक्षा निकाय, स्थानीय तह तथा विभिन्न सरकारी र गैरसरकारी संस्थाले बेपत्ता नागरिकको खोजी, घाइतेको उद्धार तथा उपचार र राहत व्यवस्थापनमा सक्रियता जारी राखेका छन्।

