दुई मोटरसाइकल ठोक्किँदा दुई युवकको मृत्यु, दुई गम्भीर घाइते



सर्लाही,भदौ ३१ । नवलपुर–मलङ्गवा सडकखण्डअन्तर्गत सर्लाहीको कविलासी नगरपालिका–७, सिर्सियामा मंगलबार साँझ दुईवटा मोटरसाइकल आपसमा ठोक्किँदा दुई युवकको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन्।

कविलासीबाट गौरतर्फ जाँदै गरेको मधेश प्रदेश ०३–०३३ प ७८२४ नम्बरको मोटरसाइकल र विपरीत दिशाबाट आउँदै गरेको बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकल आपसमा ठोक्किँदा दुवै मोटरसाइकलका चालकको मृत्यु भएको हो।

मृत्यु हुनेमा गोडैता नगरपालिका–६ का ३० वर्षीय सुमित यादव र कविलासी नगरपालिका–८ का २६ वर्षीय पप्पु पासवान रहेका छन्। दुर्घटनामा अचेत भएका दुवै जनालाई प्रादेशिक अस्पताल मलङ्गवा पुर्‍याइएकोमा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका निमित्त सूचना अधिकारी एवं प्रहरी निरीक्षक गणेश पाण्डेले जानकारी दिनुभयो।

दुर्घटनामा बीआर ३० एपी १२२४ नम्बरको मोटरसाइकलमा पछाडि सवार कविलासी नगरपालिका–८ का ३३ वर्षीय सुरेन्द्र पासवान र मलङ्गवा नगरपालिका–६ का १८ वर्षीय बब्लु कुमार घाइते भएका छन्। दुवैको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

घाइते सुरेन्द्र र बब्लुलाई मलङ्गवामा उपचारपछि थप उपचारका लागि जनकपुरतर्फ रेफर गरिएको प्रहरी निरीक्षक पाण्डेले बताउनुभयो।

प्रहरीका अनुसार प्रारम्भिक अनुसन्धानमा तीव्र गतिका कारण दुर्घटना भएको देखिएको छ। दुर्घटनामा दुवै मोटरसाइकल क्षतिग्रस्त भएका छन्।

प्रतिक्रिया दिनुहोस्