मकवानपुरमा इभी दुर्घटना : मृत्यु भएका चारै जनाको पहिचान खुल्यो
मकवानपुर, भदौ ३१ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ स्थित हेटौँडा–भीमफेदी–कुलेखानी–फाखेल सडकखण्डअन्तर्गत सुकौरामा विद्युतीय गाडी दुर्घटना हुँदा मृत्यु भएका चारै जनाको पहिचान खुलेको छ ।
काठमाडौँबाट वीरगञ्जतर्फ आउँदै गरेको म.प्र. ०३–००१ ज ०७२० नम्बरको यात्रुवाहक विद्युतीय गाडी मङ्गलबार दिउँसो करिब २ बजे सडकबाट करिब एक हजार मिटर तल खसेर दुर्घटना भएको थियो । दुर्घटनामा चार जनाको घटनास्थलमै मृत्यु भएको थियो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक माधव काफ्लेका अनुसार मृत्यु हुनेमा नवलपरासी पूर्वको कावासोती नगरपालिका–१ का २४ वर्षीय नरबहादुर सिंह ठकुरी, धनुषाको धनुषाधाम नगरपालिका–४ का ४३ वर्षीय सुरज भट्टराई, पर्साको छिपहरमाई गाउँपालिका–२ टिहुकीका ४४ वर्षीय भुवनेश्वर साह र बाराको परवानीपुर गाउँपालिका–३ का ३२ वर्षीय सरफरोस मियाँ रहेका छन् ।
ठकुरीको साथमा रहेको राहदानी र नागरिकता तथा भट्टराईको साथमा रहेको नागरिकता र राष्ट्रिय परिचयपत्रका आधारमा पहिचान खुलेको प्रहरीले जनाएको छ । साह र मियाँको पनि आवश्यक विवरणका आधारमा पहिचान खुलेको हो । दुर्घटनामा मकवानपुरगढी गाउँपालिका–१ का २३ वर्षीय राजकुमार स्याङ्तान गम्भीर घाइते भएका छन् । उनको काठमाडौँस्थित ट्रमा सेन्टरमा उपचार भइरहेको छ ।
यस्तै, गाडी चालक बाराको कलैया उपमहानगरपालिका–२४ का २० वर्षीय अमिर अन्सारी, हेटौँडा उपमहानगरपालिका–११ की २३ वर्षीया कल्पना तामाङ र बाराको महागढीमाई नगरपालिका–११ की २१ वर्षीया बबिया कुमारी यादव घाइते भएका छन् । अन्सारी र तामाङको ट्रमा सेन्टर काठमाडौँमा तथा यादवको हेटौँडा अस्पतालमा उपचार भइरहेको छ । यादवको अवस्था मध्यम तथा अन्य तीन घाइतेको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ ।
दुर्घटनापछि प्रहरी चौकी खानीखेत, इलाका प्रहरी कार्यालय भीमफेदी, जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुर र जिल्ला प्रहरी कार्यालय मकवानपुरबाट प्रहरी टोली घटनास्थलमा परिचालन गरिएको थियो । प्रहरी उपरीक्षक श्यामबहादुर खत्रीको नेतृत्वमा ट्राफिकसहित २१ जना प्रहरी, सशस्त्र प्रहरीका १० जना र नेपाली सेनाका १० जनाको टोली उद्धार तथा व्यवस्थापनमा खटिएको थियो ।
दुर्घटनाबारे थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ ।

