एक वर्षअघिको सपना पूरा : मुस्ताङमा घरपझोङ जलवायु सम्मेलन, ४२१ स्थानीय तहका प्रतिनिधि सहभागी



मुस्ताङ,भदौ ३१ । मुस्ताङको घरपझोङ गाउँपालिकाले एक वर्षअघि देखेको जलवायु परिवर्तन सम्मेलन गर्ने सपना पूरा भएको छ। जलवायु परिवर्तनको असर नेपालमा मात्र नभई विश्वभर बढिरहेका बेला हिमाली जिल्ला मुस्ताङमा आयोजना गरिएको ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन’लाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरबाट चासोका साथ हेरिएको छ।

गत वर्ष भदौको अन्तिम साता आयोजना गर्ने तयारी गरिएको सम्मेलन जेनजी आन्दोलनका कारण स्थगित भएको थियो। तर जलवायु परिवर्तनको प्रत्यक्ष असर खेपिरहेको हिमाली जिल्ला मुस्ताङमा सम्मेलन गर्नैपर्ने जिल्लावासी तथा घरपझोङ गाउँपालिकाका जनप्रतिनिधिको साझा धारणा र निरन्तरको पहलपछि सम्मेलन आयोजना गरिएको हो।

सम्मेलन जलवायु सङ्कटबारे छलफल गर्ने मञ्चमा मात्र सीमित रहेन। यसले सातै प्रदेशका सयौँ स्थानीय तहका जनप्रतिनिधिलाई एउटै मञ्चमा ल्याएको छ। जलवायु परिवर्तनबाट नेपालमा परेको असरका विषयलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहसम्म पुर्‍याउने उद्देश्यले गाउँपालिकाले सङ्घीय मामिला मन्त्रालयको समन्वयमा देशभरका ७५३ स्थानीय तहलाई पत्राचार गरेको थियो। तीमध्ये ४२१ स्थानीय तह र ३६ जिल्ला समन्वय समितिका पदाधिकारी सम्मेलनमा सहभागी भएका छन्।

धार्मिक, सामाजिक, सांस्कृतिक र सामरिक दृष्टिले समेत महत्त्वपूर्ण मानिने मुस्ताङमा ठूलो सङ्ख्यामा आएका पाहुनाको आवास तथा खानपान व्यवस्थापन चुनौतीपूर्ण भए पनि स्थानीय होटल व्यवसायीले न्यानो आतिथ्य प्रदान गरेका थिए। सम्मेलनमा सहभागी अधिकांशले प्रसिद्ध मुक्तिनाथको दर्शन गर्नुका साथै मुस्ताङका स्याउबारी र प्राकृतिक तथा भौगोलिक सुन्दरताको अवलोकन गर्ने अवसरसमेत पाएका छन्।

सम्मेलन उद्घाटनअघि घरपझोङ गाउँपालिका भवनबाट स्थानीय रहनसहन, वेशभूषा र सांस्कृतिक पहिचान झल्कने झाँकीसहित प्रभातफेरी निकालिएको थियो। र्‍याली सम्मेलनस्थल कभर्डहल पुगेपछि औपचारिक कार्यक्रम सुरु भएको थियो।

सम्मेलनको उद्घाटन सङ्घीय कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले गर्नुभएको थियो। उहाँले जलवायु परिवर्तनका चुनौती सामना गर्न सङ्घ, प्रदेश र स्थानीय तहबीच समन्वय र सहकार्य आवश्यक रहेको बताउनुभयो। कार्यक्रममा प्रधानमन्त्री वालेन्द्र शाहले सम्मेलन सफलताको शुभकामना दिँदै पठाउनुभएको सन्देशसमेत वाचन गरिएको थियो। गाउँपालिका उपाध्यक्ष जमुना थकालीले सम्मेलन आयोजना गर्नुपर्नाको आवश्यकता र उद्देश्यबारे सहभागीलाई जानकारी गराउनुभएको थियो।

प्रतिनिधिसभा सदस्य योगेश गौचन थकालीसहित प्रदेश, जिल्ला तथा स्थानीय तहका जनप्रतिनिधिले जलवायु परिवर्तनका कारण नेपालमा देखिएका असरबारे आफ्ना अनुभव र धारणा प्रस्तुत गर्नुभयो। त्यसपछि सञ्चालन भएको प्राविधिक सत्रमा सहसचिव हरिप्रसाद शर्मा, प्रा. डा. विनोद दवाडी, विज्ञ डा. कृष्णचन्द्र देवकोटा र सहसचिव गणेशप्रसाद भट्टले जलवायु परिवर्तनका असरसम्बन्धी विषयगत कार्यपत्र प्रस्तुत गर्नुभयो।

समूहगत तथा सत्रगत छलफलमा पालिका अध्यक्ष तथा गाउँपालिका राष्ट्रिय महासङ्घ नेपालका प्रतिनिधिले जलवायु परिवर्तनले हिमाली क्षेत्रमा मात्र नभई स्वास्थ्य, सामाजिक तथा सांस्कृतिक क्षेत्रमा समेत पारेको प्रभावबारे गहन छलफल गरेका थिए। सम्मेलनको अन्त्यमा ‘घरपझोङ जलवायु परिवर्तन सम्मेलन–२०८३’ को साझा घोषणापत्र जारी गर्ने कार्यसूची रहेको प्रमुख प्रशासकीय अधिकृत भीमकुमार बस्नेतले जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्