प्रधानमन्त्री शाह र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता
काठमाडौं,भदौ ३१ । प्रधानमन्त्री वालेन्द्र शाहसँग नेपालका लागि कार्यवाहक अमेरिकी राजदूत मेगन बोल्डिनले आज सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ।
भेटका क्रममा प्रधानमन्त्री शाहले विपद्को कठिन परिस्थितिमा नेपालप्रति अमेरिकी सरकारबाट व्यक्त ऐक्यबद्धता र सहयोगका लागि आभार व्यक्त गर्नुभयो। उहाँले हालको विपद्बाट नेपाली नागरिकसँगै विदेशी नागरिकसमेत प्रभावित भएको जानकारी गराउँदै जलवायु परिवर्तनको असरस्वरूप नेपालले यस्तो विपद्को सामना गर्नुपरेको बताउनुभयो।
प्रधानमन्त्री शाहले जलवायुजन्य विपद्को जोखिम न्यूनीकरण तथा त्यसबाट हुने प्रभाव सम्बोधन गर्न विश्वव्यापी सहकार्य र सामूहिक प्रयासलाई थप सुदृढ बनाउनुपर्नेमा जोड दिनुभयो।
भेटमा उहाँले नेपालको पर्यटन क्षेत्रको विशिष्ट सम्भावना तथा यसको विकासमार्फत नेपाल र अमेरिकाबीच पारस्परिक लाभ हासिल गर्न सकिने अवसरबारे पनि चर्चा गर्नुभयो। नेपालले अमेरिकी लगानीलाई सधैँ स्वागत गर्ने प्रधानमन्त्री शाहले बताउनुभयो।
कार्यवाहक राजदूत बोल्डिनले रसुवामा आएको बाढीबाट भएको जनधनको क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवार तथा प्रभावित समुदायप्रति समवेदना प्रकट गर्नुभयो। उहाँले विपद्को यस कठिन घडीमा नेपाल सरकार र नेपाली जनताप्रति अमेरिकी सरकारको ऐक्यबद्धता रहेको बताउनुभयो।
बोल्डिनले राहत, पुनःस्थापना तथा पुनर्निर्माणका प्रयासमा आवश्यक सहयोग र सहकार्य गर्न अमेरिकी सरकार तत्पर रहेको जानकारीसमेत गराउनुभएको छ।

