कृष्णभीरमा नयाँ ट्र्याक तयार, बिहीबारदेखि दुईतर्फी सवारी सञ्चालन हुने



चितवन,भदौ ३१ । त्रिशूली नदीको बाढीबाट सडकको तल्लो भाग बगेपछि अवरुद्ध बनेको पृथ्वी राजमार्गअन्तर्गत धादिङको कृष्णभीरमा नयाँ ट्र्याक निर्माण गरी बिहीबार बिहानदेखि दुईतर्फी यातायात सञ्चालन गरिने भएको छ।

बाढीका कारण भदौ १४ गते कृष्णभीरमा करिब १०० मिटर सडक क्षतिग्रस्त भई यातायात पूर्णरूपमा अवरुद्ध भएको थियो। त्यसपछि भदौ १८ गतेदेखि नजिकैको ढिस्को काटेर नयाँ ट्र्याक निर्माण थालिएको थियो।

नागढुङ्गा–मुग्लिन सडक योजना पश्चिम खण्डका इन्जिनियर धीरज ढकालका अनुसार आज साँझसम्म ग्राभेल, नालीलगायत बाँकी काम सम्पन्न हुनेछ। रातिको समयमा सवारी सञ्चालन सहज बनाउन बेनिघाट रोराङ गाउँपालिकाले सडक क्षेत्रमा बत्ती जडान गरिरहेको छ।

पूर्वाधार विकास मन्त्रालयले बिहीबार बिहान ६ बजेदेखि कृष्णभीरमा पूर्णरूपमा यातायात सञ्चालन गर्ने जनाएको छ।आवश्यक जनशक्ति, उपकरण तथा स्रोतसाधन परिचालन गरी नयाँ ट्र्याक निर्माण र सडक पुनःस्थापनाको काम अन्तिम चरणमा पुगेको मन्त्रालयले जनाएको छ।

धादिङका प्रमुख जिल्ला अधिकारी लक्ष्मी पाण्डेयले आज साँझसम्म काम सम्पन्न भएमा कृष्णभीरमा रोकिएका सवारीसाधनलाई आजै पार गराउने बताउनुभयो। बिहीबार बिहानदेखि भने दुईतर्फी रूपमा नियमित सवारी सञ्चालन हुने उहाँले जानकारी दिनुभयो।

कृष्णभीरमा यातायात सञ्चालनमा आएपछि नारायणगढ–मुग्लिन सडकखण्डको तुइन खोलामा आंशिक रूपमा रोकिएका सवारीसाधन पनि गन्तव्यतर्फ पठाइने भएका छन्। चितवनका प्रमुख जिल्ला अधिकारी गणेश अर्यालका अनुसार कृष्णभीर खुलेपछि तुइन खोलामा पहिरो रोकथामका लागि गरिएको आंशिक सडक अवरोधको काम तत्काल रोक्ने तयारी छ।

कृष्णभीर लामो समयदेखि अवरुद्ध हुँदा ठूला सवारीसाधन राजधानी आवतजावत गर्न नसक्दा आपूर्ति प्रभावित भएको थियो।विशेषगरी काठमाडौंमा एलपी ग्यासको अभाव देखिएको अवस्थामा कृष्णभीरमा यातायात सञ्चालन भएपछि आपूर्ति सहज हुने अपेक्षा गरिएको छ।

प्रतिक्रिया दिनुहोस्