विपद् प्रभावितको राहतका लागि नुवाकोट शिवपुरीका थापा परिवारद्वारा पाँच लाख ५५ हजार सहयोग



नुवाकोट,भदौ ३१ । नुवाकोटको शिवपुरी गाउँपालिका–५ स्थायी घर भई हाल काठमाडौंको बूढानीलकण्ठ नगरपालिका–४ लिपीकोट बस्दै आउनुभएका बद्रीबहादुर थापा तथा उहाँको परिवारले विपद् प्रभावित नागरिकको राहत तथा उद्धारका लागि पाँच लाख ५५ हजार पाँच सय ५५ रुपैयाँ सहयोग गर्नुभएको छ।

थापा परिवारले प्रधानमन्त्री दैवीप्रकोप राहत तथा उद्धार कोषमा उक्त रकम सहयोग गर्नुभएको हो। विभिन्न सामाजिक संघ–संस्थामा आबद्ध हुँदै सामाजिक अभियानमा सक्रिय रहँदै आउनुभएका थापाले आफ्नो जिल्लामा आइपरेको महाविपत्तिमा पीडित नागरिकको साथमा उभिने उद्देश्यले सहयोग रकम प्रदान गर्नुभएको बताइएको छ।

भोटेकोशी–त्रिशूली क्षेत्रमा आएको विनाशकारी बाढी तथा पहिरोका कारण नुवाकोटसहित आसपासका जिल्लामा ठूलो जनधनको क्षति भएको अवस्थामा थापा परिवारले राहत तथा उद्धार अभियानमा हातेमालो गर्दै आर्थिक सहयोग गरेको हो।

थापा परिवारको सहयोगले विपद्बाट प्रभावित नागरिकको राहत, उद्धार तथा पुनःस्थापनामा केही भए पनि योगदान पुग्ने अपेक्षा गरिएको छ।

यसअघि थापा अध्यक्ष रहेको भक्ति इन्टरनेसनल एकेडेमीले समेत राहत तथा उद्धार कोषमा दुई लाख ४३ हजार रुपैयाँ सहयोग गरिसकेको बताइएको छ।

प्रतिक्रिया दिनुहोस्