चिलिमे आयोजनाको सुरुङमा तीन शव फेला, दुई बाहिर निकालियो
रसुवा,भदौ ३१ । रसुवाको भोटेकोसीमा भदौ १० गते आएको विनाशकारी बाढीपछि चिलिमे जलविद्युत् आयोजनाको सुरुङभित्र फसेकाहरूको खोज तथा उद्धारका क्रममा तीन वटा शव फेला परेका छन्। तीमध्ये दुई वटा शव बाहिर निकालिएको छ भने एक शव निकाल्ने काम जारी रहेको छ।
विदेशी प्राविधिकसहितको संयुक्त खोज तथा उद्धार टोलीले सुरुङभित्र फसेकाहरूको खोजीका लागि हेलिकप्टरबाट स्याफ्रुबेँसीमा पुर्याइएको एक्स्काभेटर र लोडर प्रयोग गरी चट्टान फोड्दै करिब एक हजार ५० मिटर बाटो निर्माण गरेको थियो। त्यसपछि सुरुङसम्म उपकरण पुर्याएर निरन्तर भग्नावशेष हटाउने काम भइरहेको थियो।
भग्नावशेष हटाउने क्रममा सुरुङको करिब ७० मिटरभित्रबाट पानी निस्किरहेको प्वाल फेला परेको थियो। उक्त प्वालबाट उद्धार टोली प्रवेश गरी करिब १३० मिटरसम्म खोजी गर्दा पानीको सतह सुरुङको माथिल्लो भागसम्म पुगेको भेटिएपछि एक्स्काभेटर प्रयोग गर्न नसकिने अवस्था सिर्जना भएको थियो।
त्यसपछि भदौ ३१ गते गोताखोरसहितको टोली उक्त प्वालबाट सुरुङभित्र प्रवेश गरी अन्तिम किनारासम्म खोजी गर्दा तीन वटा शव फेला पारेको हो। फेला परेका शवमध्ये दुई वटा बाहिर निकालिएको र बाँकी एक शव निकाल्ने कार्य भइरहेको खोज तथा उद्धार टोलीले जनाएको छ।
सुरुङभित्र थप व्यक्तिहरू हुन सक्ने भएकाले खोजी तथा उद्धार कार्यलाई निरन्तरता दिइएको छ।

