ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु
ओखलढुंगा,भदौ ३१ । ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–९ राघवपुरमा ढुङ्गा बोकेको ट्याक्टर दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ।
राघवपुरस्थित मानेभञ्ज्याङ–राघवपुर भित्री कच्ची सडकखण्डमा ढुङ्गा लोड गरी मानेभञ्ज्याङतर्फ जाँदै गरेको लु.४ त १६७२ नम्बरको ट्याक्टर अनियन्त्रित भई सडकबाट करिब एक सय मिटर तल खसेर दुर्घटना भएको हो।
दुर्घटनामा ट्याक्टरमा सवार मानेभञ्ज्याङ गाउँपालिका–८ का २० वर्षीय नवीन पुलामी मगर र ६२ वर्षीय छबिलाल तिमल्सिनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ।
दुर्घटनामा सोही ठाउँका २९ वर्षीय तुलसी थापा मगर, २८ वर्षीय भीमबहादुर सार्की र ट्याक्टर चालक २५ वर्षीय मिलन राई भने सकुशल रहेका छन्। दुर्घटनामा ट्याक्टर पूर्ण रूपमा क्षतिग्रस्त भएको छ।
दुर्घटनाको खबर प्राप्त भएपछि प्रहरी चौकी मानेभञ्ज्याङबाट प्रहरी नायब निरीक्षक खुदु मुर्मु र जिल्ला प्रहरी कार्यालय ओखलढुङ्गाबाट प्रहरी निरीक्षक शेखरकुमार साहको कमाण्डमा खटिएको प्रहरी टोलीले उद्धार गरेको थियो। चालक मिलन राईलाई नियन्त्रणमा लिई घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

