पूर्वप्रधानमन्त्री भट्टराईद्वारा बाढीग्रस्त क्षेत्रको अनुगमन, ‘भाइरल घर’ बारे के भने?



नुवाकोट,भदौ ३१ । पूर्वप्रधानमन्त्री बाबुराम भट्टराईले बाढीग्रस्त नुवाकोटको त्रिशूली र वेत्रावती क्षेत्रको अनुगमन गरेका छन्।

भट्टराईले बाढीबाट प्रभावित क्षेत्रको प्रत्यक्ष अवलोकनपछि त्रिशूली नदीको बाढीमा क्षति नभएको चर्चित ‘भाइरल घर’बारे पनि आफ्नो धारणा सार्वजनिक गरेका छन्। उनका अनुसार उक्त घर कुनै ‘अदृश्य’ शक्तिका कारण जोगिएको नभई नदीधारतर्फ बलियो चट्टानी पहाड, अर्को पट्टिको घर र स्वयं घरको तुलनात्मक रूपमा बलियो संरचनाका कारण जोगिएको देखिएको हो।

उनले घटनालाई हल्ला वा अन्धविश्वासका आधारमा नभई तथ्य र वैज्ञानिक आधारबाट बुझ्नुपर्ने बताएका छन्। “तथ्यबाट सत्य खोजौं। वैज्ञानिक चिन्तन अंगालौं! हल्लाको पछि नलागौं!” भट्टराईले भनेका छन्।

भट्टराईले बाढीबाट प्रभावित क्षेत्रको स्थलगत अवस्थाबारे जानकारी लिँदै विपद्को वास्तविक कारण र प्रभावलाई वैज्ञानिक ढङ्गले अध्ययन गर्नुपर्नेमा जोड दिएका छन्।

प्रतिक्रिया दिनुहोस्