ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु



बारा,भदौ ३१— बाराको जीतपुरसिमरा उपमहानगरपालिका–२३ भलुहीमा ग्याँस बोकेको ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।

पथलैया–वीरगन्ज सडकखण्डअन्तर्गत सागर आयल पेट्रोल पम्पनजिक भएको दुर्घटनामा करैयामाई गाउँपालिका–७ का ३० वर्षीय दिलीप चौधरी र वीरगन्ज महानगरपालिका–१५ नगवाका ३५ वर्षीय रवीन्द्र उपाध्यायको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ।

प्रहरीका अनुसार पूर्वतर्फको सर्भिस लेनबाट मुख्य सडकतर्फ निस्किँदै गरेको ना३ख ५६१० नम्बरको ग्याँस बोकेको ट्रकले वीरगन्जतर्फ गइरहेको ना४३ प ५१२२ नम्बरको मोटरसाइकललाई ठक्कर दिएको थियो।

ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुवै जना गम्भीर घाइते भएका थिए। उनीहरूलाई तत्काल उद्धार गरी उपचारका लागि वीरगन्जस्थित नारायणी अस्पताल पुर्‍याइएको थियो। अस्पताल पुर्‍याएलगत्तै चिकित्सकले दुवैलाई मृत घोषणा गरेका थिए।

मोटरसाइकल चौधरी वा उपाध्यायमध्ये कसले चलाएका थिए भन्नेबारे भने प्रहरीले यकिन गर्न सकेको छैन। दुर्घटनापछि प्रहरीले ग्याँस बोकेको ट्रक र चालक चितवनको भरतपुर महानगरपालिका निवासी ५८ वर्षीय सुनिलराज पाठकलाई नियन्त्रणमा लिएको छ।

प्रतिक्रिया दिनुहोस्