उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रमा प्रतिकेजी ११० रुपैयाँमा चिनी
काठमाडौँ,भदौ ३१ — वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाडौँ उपत्यकाका एक हजारभन्दा बढी बिक्री केन्द्रबाट प्रतिकेजी ११० रुपैयाँमा चिनी बिक्री भइरहेको जनाएको छ।
विभागले आज प्रेस विज्ञप्ति जारी गर्दै चिनीको सहज र पर्याप्त आपूर्ति भइरहेको जनाएको हो। बजारमा चिनीको अभाव वा मूल्यवृद्धि हुने आशङ्कामा आवश्यकताभन्दा बढी सञ्चय नगर्न विभागले आम उपभोक्तालाई अनुरोध गरेको छ।
चिनीको मूल्य बढेको भन्दै उपभोक्ताबाट गुनासो बढेपछि उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले मंगलबार सरोकारवालासँग छलफल गर्नुभएको थियो। छलफलपछि बजारमा चिनीको आपूर्ति तथा मूल्य अवस्थालाई सहज बनाउन सम्बन्धित निकायले अनुगमन र व्यवस्थापनलाई निरन्तरता दिएको विभागले जनाएको छ।

