गजेन्द्रनारायण सिंह सगरमाथा अस्पतालको प्रसूति सेवा समस्याबारे छानबिन प्रतिवेदन मन्त्रालयमा



काठमाडौँ,भदौ ३१— गजेन्द्रनारायण सिंह सगरमाथा अस्पताल, राजविराजमा प्रसूति सेवामा देखिएको समस्याबारे अध्ययन गर्न गठित छानबिन समितिले आफ्नो प्रतिवेदन स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयमा बुझाएको छ।

प्रसूति सेवाका लागि अस्पताल पुगेकी दलित महिलाले सेवा नपाउँदा अस्पतालबाहिर सडक पेटीमै शिशुलाई जन्म दिनुपरेको घटनाको सत्यतथ्य छानबिन गर्न नेपाल मेडिकल काउन्सिलका रजिष्ट्रार डा. सुप्रभात श्रेष्ठको संयोजकत्वमा समिति गठन गरिएको थियो। समितिले अस्पतालको स्थलगत अनुगमन तथा निरीक्षण गरी अध्ययनपछि प्रतिवेदन तयार पारेको हो।

स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्री निशा मेहताको उपस्थितिमा मन्त्रालयका सचिव डा. विकास देवकोटालाई समितिका संयोजक डा. श्रेष्ठले प्रतिवेदन बुझाउनुभएको हो।

स्थलगत अनुगमन तथा अध्ययन टोलीमा स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयका विज्ञ डा. पवनजंग रायमाझी तथा नेपाल मेडिकल काउन्सिलका विज्ञ एवं सदस्यहरू डा. विजय कापरी, डा. अजयकुमार शाह, डा. सारिका गोइत र डा. रविन बस्नेत सहभागी हुनुहुन्थ्यो।

प्रतिक्रिया दिनुहोस्