मनास्लु आरोहण सुरु, ४६६ आरोही शिखरतर्फ



काठमाडौँ,असोज १— शरद ऋतुका लागि मनास्लु हिमालको आरोहण सुरु भएको छ । यस याममा आरोहणका लागि अनुमति लिएका विभिन्न देशका ४६६ जना आरोहीले गत मङ्गलबारदेखि आधार शिविरबाट शिखरतर्फको यात्रा सुरु गरेका हुन् ।

आरोहणमा सहभागी ४६६ जनामध्ये ३४२ जना पुरुष र १२४ जना महिला रहेका छन् । आधार शिविरमा लामागुरुले पूजा गरेपछि आरोहणको साइत गरिएको आरोहीका सहयोगी विसबहादुर गुरुङले जानकारी दिनुभयो । उहाँका अनुसार मौसमले साथ दिएमा आरोहीहरूले अबको एकदेखि तीन साताभित्र मनास्लुको सफल आरोहण गर्ने अपेक्षा गरिएको छ ।

पर्यटन विभागका अनुसार यस याममा मनास्लु आरोहणका लागि अनुमति लिएका आरोहीबाट सरकारले रु २१ करोड २४ लाख ४८ हजार राजस्व सङ्कलन गरेको छ । आरोहण अनुमति लिने आरोहीको सङ्ख्या र यसबाट प्राप्त राजस्व दुवै अहिलेसम्मकै उच्च भएको विभागले जनाएको छ ।

गोरखाको चुमनुब्री गाउँपालिका–१ सामागाउँमा अवस्थित मनास्लु हिमाल समुद्री सतहबाट आठ हजार १६३ मिटर अग्लो छ । विश्वको आठौँ अग्लो हिमाल मनास्लुमा सन् १९५६ मे ९ देखि औपचारिक रूपमा आरोहण सुरु भएको थियो ।

प्रतिक्रिया दिनुहोस्