बागमती प्रदेश प्रमुख देवकोटाद्वारा एक महिनाको पारिश्रमिक राहत कोषमा



मकवानपुर,असोज १ । बागमती प्रदेशका प्रमुख दीपकप्रसाद देवकोटाले भोटेकोशी बाढी प्रभावित नागरिकको उद्धार तथा पुनःस्थापनाका लागि आफूले प्राप्त गर्ने एक महिनाको पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्नुभएको छ ।

बाढी प्रभावित नागरिकलाई थोरै भए पनि राहत पुगोस् भन्ने उद्देश्यले प्रदेश प्रमुख देवकोटाले आफ्नो एक महिनाको पारिश्रमिक सहयोगस्वरूप प्रदान गर्नुभएको प्रदेश प्रमुखको सचिवालयले जनाएको छ ।

भोटेकोशी बाढीबाट ठूलो जनधनको क्षति भएका क्षेत्रका नागरिकको अवस्था बुझ्न प्रदेश प्रमुख देवकोटा यही भदौ १३ गते नुवाकोटको विदुर पुग्नुभएको थियो । उहाँले प्रभावित क्षेत्रको अवस्थाबारे जानकारी लिनुका साथै उद्धार तथा राहतका कार्यबारे सरोकारवाला निकायसँग छलफल गर्नुभएको थियो ।

बाढी तथा पहिरो प्रभावित क्षेत्रमा उद्धार र राहतका कार्यलाई थप तीव्र बनाउन सरोकारवाला निकायलाई आग्रह गर्दै प्रदेश प्रमुख देवकोटाले सङ्कटको यस घडीमा एकताबद्ध भएर जुट्न सबैमा अपिल गर्नुभएको छ ।

प्रतिक्रिया दिनुहोस्