बाढीको २२ दिनपछि नुवाकोट पुगे डा. भट्टराई, पुनःस्थापनामा ढिलाइ नगर्न आग्रह



नुवाकोट, असोज १ — पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले भोटेकोशी हुँदै त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नुवाकोटका विभिन्न स्थानको स्थलगत निरीक्षण तथा अवलोकन गर्नुभएको छ । बाढी आएको २२ दिनपछि बुधबार दलबलसहित नुवाकोट पुग्नुभएका डा. भट्टराईले बाढीले क्षति पुर्‍याएका बजार, संरचना तथा प्रभावित क्षेत्रको अवलोकन गर्नुभएको हो ।

गत भदौ १० गते भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको बाढीले नुवाकोटसहित रसुवा, धादिङ, गोरखा, चितवन र तनहुँका विभिन्न स्थानमा ठूलो जनधनको क्षति पुर्‍याएको थियो । बाढीले हजारौँ घर, पुल, जलविद्युत् आयोजना, सडक, विद्यालयलगायतका संरचनामा क्षति पुर्‍याएको छ ।

डा. भट्टराईले नुवाकोटका ढुङ्गे र त्रिशूली बजारसहित बाढीले क्षति पुर्‍याएका तथा भग्नावशेषमा परिणत भएका क्षेत्रको निरीक्षण गर्नुभयो । उहाँले बाढीपीडितसँग भेट गरी उनीहरूका गुनासा तथा समस्यासमेत सुन्नुभएको थियो । बाढीबाट क्षतिग्रस्त देवीघाटमा निर्माण गरिएको बेलीब्रिजको समेत उहाँले निरीक्षण गर्नुभयो ।

त्यसक्रममा डा. भट्टराईले जिल्ला समन्वय समितिका प्रमुख रजिन्द्रविक्रम सिंहठकुरी, विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठ, राष्ट्रिय स्वतन्त्र पार्टी नुवाकोटका सभापति रामेश्वर गजुरेललगायत जनप्रतिनिधि तथा स्थानीय नेतासँग छलफल गरी बाढीबाट भएको क्षति, प्रभावित क्षेत्रको अवस्था र पछिल्लो परिस्थितिबारे जानकारी लिनुभयो ।

उहाँले बाढी प्रभावित नागरिकको पुनःस्थापना तथा पुनर्निर्माणका लागि तीनै तहका सरकारले सहकार्य गरेर तत्काल काम अघि बढाउनुपर्ने बताउनुभयो । चाडपर्व र चिसोयाम सुरु हुन लागेकाले प्रभावित नागरिकलाई सुरक्षित स्थानमा पुनःस्थापना गर्न ढिलाइ गर्न नहुने उहाँको भनाइ थियो ।

पूर्वप्रधानमन्त्री भट्टराईले सरकारले पुनःस्थापना र पुनर्निर्माणसँगै बाढीपीडितका लागि सुरक्षित पुनर्वासको व्यवस्था गर्नुपर्नेमा जोड दिनुभयो । विपत्तिको सामना गर्न तीनै तहका सरकारले आवश्यक कार्यक्रम ल्याउनुपर्ने तथा प्रभावित नागरिकको स्वास्थ्य सुरक्षा र पुनःस्थापनालाई प्राथमिकतामा राख्नुपर्ने उहाँले बताउनुभयो ।

बाढीले क्षति पुर्‍याएका नुवाकोटका सम्पदा, स्थानीय पहिचान तथा धार्मिक र पर्यटकीय स्थलको पुनर्निर्माणसमेत आवश्यक रहेको डा. भट्टराईले बताउनुभयो । अब पुनःस्थापनाको मुख्य काम तत्काल सुरु गर्नुपर्ने उहाँको सुझाव थियो ।

उहाँले विदुर र बेलकोटगढी नगरपालिका तथा किस्पाङ र तारकेश्वर गाउँपालिकामा बाढीले पारेको प्रभावबारे समेत जानकारी लिनुभयो । काठमाडौँबाट सडकमार्ग हुँदै नुवाकोट पुग्नुभएका डा. भट्टराईसँग पूर्वमन्त्री हिसिला यमीलगायत नेता, कार्यकर्ता तथा जनप्रतिनिधि पनि सहभागी थिए ।

प्रतिक्रिया दिनुहोस्