कृष्णभिरमा १० दिनमै ट्र्याक, आजदेखि पृथ्वी राजमार्ग पूर्ण सञ्चालन



काठमाडौँ, असोज १ । भोटेकोशीको विनाशकारी बाढीले सडक बगाएपछि पृथ्वी राजमार्गको कृष्णभिरमा सरकारले १० दिनमै वैकल्पिक ट्र्याक निर्माण सम्पन्न गरेको छ। प्रधानमन्त्री वालेन्द्र शाहले घोषणा गरेको भदौ मसान्तभित्रै ट्र्याक खोल्ने लक्ष्य पूरा भएको हो।

पूर्वाधार विकासमन्त्री सुनील लम्सालको सहजीकरणमा प्राविधिकसहितको टोलीले दैनिक १२ देखि १६ घण्टा काम गरेको थियो। हेभी मेसिन तथा रातिको समयमा उच्च क्षमताका बत्तीसमेत प्रयोग गरी चौबिसै घण्टा काम अघि बढाइएको थियो।

पूर्वसचिव इन्जिनियर तुलसी सिटौला र राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा. प्रकाश श्रेष्ठले कृष्णभिरको सफलताले राजनीतिक प्रतिबद्धता, राज्यका निकायबीच समन्वय र पर्याप्त स्रोतसाधन परिचालन भए ठुला आयोजना पनि तोकिएको समयमै सम्पन्न गर्न सकिने सन्देश दिएको बताउनुभएको छ।

सडक विभागका सिनियर डिभिजन इन्जिनियर सुरेश पौडेलका अनुसार बिहीबार बिहान ६ बजेदेखि कृष्णभिर हुँदै पृथ्वी राजमार्ग पूर्ण रूपमा सञ्चालनमा आउनेछ। अब सडकलाई दीर्घकालीन रूपमा सुरक्षित र दिगो बनाउन आवश्यक अध्ययन तथा अनुसन्धान अघि बढाइने विभागले जनाएको छ।

प्रतिक्रिया दिनुहोस्