बाढीले बगाएको त्रिशूली क्याम्पस अस्थायी स्थानान्तरण, ढुङ्गे बजार पुनः उठाउन स्थानीयको माग
नुवाकोट, असोज १ । भोटेकोसी हुँदै रसुवागढीबाट त्रिशूली नदीमा आएको विनाशकारी बाढीले पूर्णरूपमा क्षति पुर्याएको नुवाकोटको त्रिशूलीस्थित त्रिभुवन त्रिशूली क्याम्पस अस्थायी रूपमा पुनःस्थापना गरिएको छ । बाढी आएको तीन सातापछि क्याम्पस स्थानान्तरण गरी बुधबारदेखि कार्यालय सञ्चालनमा ल्याइएको हो ।
भदौ १० गते बुधबार बिहान करिब १० बजे आएको प्रलयकारी बाढीले विदुर नगरपालिका–१, त्रिशूली बजारमा रहेको क्याम्पसका सम्पूर्ण भौतिक संरचना बगाएको थियो । बाढीपछि क्याम्पस सञ्चालनमा कठिनाइ भए पनि साविक स्टार बोर्डिङ रहेको प्राधिकरणको भवनमा अस्थायी रूपमा स्थानान्तरण गरी शैक्षिक तथा प्रशासनिक गतिविधि सञ्चालनमा ल्याइएको क्याम्पसले जनाएको छ ।
क्याम्पस सञ्चालनमा आएसँगै नयाँ भर्ना, प्रशासनिक काम तथा परीक्षा सम्बन्धी सम्पूर्ण गतिविधि सुचारु भएका छन् । स्नातक तह प्रथम र तेस्रो वर्षको परीक्षा फाराम खुला रहेकाले फाराम भर्न छुटेका विद्यार्थीलाई क्याम्पस प्रशासनमा सम्पर्क गरी फाराम भर्नसमेत आग्रह गरिएको छ ।
विपत्तिले क्याम्पसको भौतिक संरचना पूर्णरूपमा क्षतिग्रस्त बनाए पनि शैक्षिक यात्रा भने निरन्तर अघि बढाइएको क्याम्पसका अध्यक्ष राजेशमान श्रेष्ठले बताए । उनले उपलब्ध स्रोत र स्थानको उपयोग गर्दै क्याम्पसका गतिविधिलाई निरन्तरता दिइएको जानकारी दिए ।
यसैबीच, नुवाकोटको पश्चिमी भेग तथा रसुवा जाने प्रमुख सडकमार्गमा पर्ने ऐतिहासिक ढुङ्गे बजारलाई बाढीपछि सुरक्षित र व्यवस्थित रूपमा पुनःस्थापना गर्न स्थानीयवासीले माग गरेका छन् । त्रिशूली नदीमा आएको विनाशकारी बाढीले विदुर नगरपालिका–१ स्थित ढुङ्गे बजार क्षेत्रलाई बगरमा परिणत गरिदिएको छ ।
वर्षभरि चहलपहल र व्यापारिक गतिविधिले व्यस्त रहने ऐतिहासिक बजार अहिले उजाड बगरमा परिणत भएपछि स्थानीयवासी चिन्तित बनेका छन् । बजारको मौलिकता र ऐतिहासिक पहिचान संरक्षण गर्दै सुरक्षित स्थानमा पुनर्निर्माण गर्नुपर्ने स्थानीय युवा बताउँछन् ।
स्थानीय युवा राजु शाक्यले अब यही बगरबाट ढुङ्गे बजारलाई फेरि उठाउने समय आएको बताए । उनका अनुसार ढुङ्गे बजारको पुनर्निर्माण केवल भौतिक संरचना निर्माण गर्ने विषय नभई नुवाकोटको इतिहास, पहिचान र भविष्यलाई पुनःउभ्याउने अभियान हो ।
अर्का युवा राजेन्द्र धमलाले ढुङ्गे बजारलाई पुनःजीवन्त बनाउन सबैको साथ, सहयोग र प्रतिबद्धता आवश्यक रहेको बताए । विदुर र त्रिशूली बजारबीचमा रहेको ढुङ्गे बजारको ऐतिहासिक तथा व्यापारिक महत्वलाई संरक्षण गर्दै सुरक्षित पुनर्निर्माण गर्नुपर्ने स्थानीयको माग छ ।

