बाढीले क्षतिग्रस्त झोलुङ्गे पुलको मर्मत तीव्र, चार तुइन र एक जिपलाइन सञ्चालनमा
विदुर, असोज १ । भदौ १० गते त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट क्षतिग्रस्त नुवाकोटका झोलुङ्गे पुलको मर्मत कार्य तीव्र पारिएको छ । बाढीका कारण अवरुद्ध बनेको स्थानीय आवतजावत पुनः सहज बनाउन मर्मत गरेर सञ्चालन गर्न सकिने पुलको काम अघि बढाइएको हो ।
विदुर नगरपालिका–३ मैरीटार र बेलकोटगढी नगरपालिका–८ ठूलोखोला जोड्ने झोलुङ्गे पुल बाढीबाट क्षतिग्रस्त भएपछि त्यसको मर्मत धमाधम भइरहेको विदुर नगरपालिकाका प्रमुख राजन श्रेष्ठले जानकारी दिए । मर्मत सम्पन्न भएपछि दुई क्षेत्रका स्थानीयवासीको आवतजावत सहज हुने उनले बताए ।
भदौ १० गते बुधबार बिहान करिब १० बजे आएको विनाशकारी बाढीले नुवाकोटका विभिन्न स्थानका पक्की तथा झोलुङ्गे पुलमा ठूलो क्षति पुर्याएको थियो । बाढीबाट क्षतिग्रस्त तर मर्मत गरेर सञ्चालन गर्न सकिने पुलको मर्मत कार्य सरकारले तीव्र बनाएको छ । नुवाकोट र धादिङ जोड्ने केउरेनी–गहते तथा फोस्रेटारका साथै नुवाकोटभित्रका विभिन्न गाउँ जोड्ने पिमलटार–जागारामलगायत झोलुङ्गे पुलको मर्मत कार्य अघि बढाइएको छ ।
पुल मर्मतमा समय लाग्ने भएपछि बाढीले तहसनहस बनाएको त्रिशूली नदी वारपारका नागरिकलाई तत्काल आवतजावतको सुविधा दिन विभिन्न चार स्थानमा तुइन र एक स्थानमा जिपलाइन सञ्चालनमा ल्याइएको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको छ ।
विदुर नगरपालिका–१ इन्द्रायणीघाटदेखि सोही वडाको गुम्बाडाँडा जोड्ने, विदुर–४ सिमचौर रंगबारीदेखि विदुर–१२ गौरीबेँसी जोड्ने तथा विदुर–५ देवीघाटदेखि विदुर–३ फिर्केप जोड्ने स्थानमा तुइन जडान गरी सञ्चालनमा ल्याइएको छ । बाढीबाट प्रभावित नागरिकलाई नदी वारपार गर्न सहज होस् भन्ने उद्देश्यले यी वैकल्पिक साधन सञ्चालनमा ल्याइएको हो ।
यसैगरी, विदुर–१ इन्द्रायणीघाटदेखि विदुर–१ स्थित त्रिशूली बसपार्कसम्म आवतजावतका लागि एक थान जिपलाइन सञ्चालनमा ल्याइएको छ । इन्द्रायणीचौरबाट त्रिशूली बसपार्कतर्फ करिब ३० देखि ३५ सेकेन्डमै पुग्न सकिने जिपलाइनमा एकपटकमा एक जना यात्रा गर्न सक्ने व्यवस्था गरिएको छ ।
नदी वारपारका लागि पुल निर्माण वा अन्य वैकल्पिक आवतजावतको स्थायी व्यवस्था नभएसम्म जिपलाइन सेवा सञ्चालनमा रहने व्यवस्था मिलाइएको नगरपालिकाले जनाएको छ । नगरप्रमुख श्रेष्ठको आग्रहमा दरबार एड्भेन्चर जिपलाइन नुवाकोटले प्राविधिक सहयोग तथा सहजीकरण गरेको हो ।
विपद्को कठिन परिस्थितिमा घामपानी नभनी खटिएर नागरिकको आवतजावत सहज बनाउन वैकल्पिक संरचना सञ्चालन गरिएको नगरप्रमुख श्रेष्ठले बताए । बाढीबाट प्रभावित अन्य क्षेत्रमा समेत आवतजावत सुचारु गर्न आवश्यक कामलाई प्राथमिकताका साथ अघि बढाइएको उनले जानकारी दिए।

