कालिगढले आज विश्वकर्मा पूजा गर्दै, वास्तु दिवस तथा विश्वकर्मा पर्व मनाइँदै
काठमाडौं, असोज १ । कालिगढ तथा विभिन्न पेशा–व्यवसायमा संलग्न श्रमिकले आज भगवान् विश्वकर्माको विधिपूर्वक पूजाआराधना गरी वास्तु दिवस एवं विश्वकर्मा पर्व मनाउँदैछन् । प्रत्येक वर्ष आश्विन सङ्क्रान्तिका दिन विश्वकर्माको पूजा गर्ने परम्पराअनुसार आज देशभरका कलकारखाना, उद्योग तथा विभिन्न कार्यस्थलमा विशेष पूजा गरिँदैछ ।
विश्वकर्मा पूजाका अवसरमा कलकारखाना तथा कार्यस्थललाई विशेष रूपमा सजाएर श्रमिकले भव्यताका साथ पर्व मनाउने गर्छन् । यस दिन कालिगढले दैनिक काममा प्रयोग गर्ने औजार, उपकरण, मेसिन तथा इञ्जिन जडान भएका सवारीसाधनको समेत पूजा गर्ने प्रचलन छ । पूजाआराधना गरेमा औजार तथा उपकरण लामो समयसम्म टिक्ने, कामका क्रममा नबिग्रने र राम्रो काम गर्न सकिने धार्मिक विश्वास रहिआएको छ ।
पूजाका लागि बालुवा तथा अन्य सामग्रीबाट बनाइएको विश्वकर्माको मूर्ति वाग्मतीको मुहानस्थल सुन्दरीजल वा अन्य शुद्ध स्थानमा लगेर विसर्जन गर्ने चलनसमेत छ । धार्मिक मान्यताअनुसार द्वापर युगमा भगवान् कृष्णलाई राक्षसले दुःख दिएपछि विश्वकर्माले समुद्रको बीचमा ‘भेद द्वारका’ निर्माण गरी उहाँलाई लुकाएका थिए । एकै रातमा समुद्रको बीचमा द्वारका निर्माण गरेको विश्वासका आधारमा विश्वकर्मालाई सफल वास्तुविद्का रूपमा मान्दै पूजा गर्ने परम्परा सुरु भएको संस्कृतिविद् प्रा. तोयराज नेपाल बताउनुहुन्छ ।
प्राचीन भारतवर्षका चार दिशाका रक्षक देवतामध्ये द्वारकालाई पश्चिम दिशाको रक्षकका रूपमा समेत मानिन्छ । विश्वकर्माले निर्माण गरेको भनिएको ‘भेद द्वारका’ अहिले पनि भारतको गुजरात राज्यस्थित समुद्रको बीचमा रहेको विश्वास गरिन्छ । विश्वकर्मालाई वास्तुविद्याका विशिष्ट ज्ञाताका रूपमा समेत मानिन्छ । वास्तुशास्त्री शिव पोखरेलका अनुसार ‘विश्वकर्मा प्रकाश’ नामक वास्तुशास्त्रसम्बन्धी ग्रन्थसमेत विश्वकर्माले नै रचना गरेको विश्वास गरिन्छ ।
यही धार्मिक तथा सांस्कृतिक विश्वासका आधारमा नेपालका कालिगढले विश्वकर्माको पूजा गरी उहाँको विद्वता र सीपको सम्मान गर्ने गरेका छन् । विश्वकर्माको पूजा गरेमा आफूमा पनि उहाँका गुण प्राप्त हुने विश्वासका कारण आज विभिन्न प्रकारका यन्त्र, मेसिन तथा सवारीसाधनमा पूजाआराधना गरिन्छ ।
यसै अवसरमा वास्तुशास्त्रका पुस्तकका लेखक तथा अध्येताको सम्झनामा वास्तुविद्ले आजको दिनलाई वास्तु दिवसका रूपमा समेत मनाउने गर्छन् । पछिल्लो समय नेपालमा वास्तुविद्याप्रति चासो बढ्दै गएको छ ।
चार उपवेदमध्ये एक मानिने स्थापत्यवेदमा वास्तुशास्त्रसम्बन्धी विषय उल्लेख रहेको मानिन्छ । लुप्तप्रायः अवस्थामा पुगेको स्थापत्यवेदमा आधारित सहर तथा आवास निर्माण गर्ने क्रम बढ्न थालेसँगै पछिल्लो समय वास्तुविद्याको महत्वसमेत बढ्दै गएको अध्येताहरू बताउँछन्।

