आजदेखि काठमाडौँमा पुरानै मूल्यमा ग्यास पाइने
काठमाडौँ, असोज १ । काठमाडौँ उपत्यकाका उपभोक्ताले बिहीबारदेखि प्रतिसिलिन्डर रु दुई हजार ६० मै एलपी ग्यास पाउने भएका छन्। नेपाल एलपी ग्यास उद्योग सङ्घका अध्यक्ष दिवान चन्दले उपत्यकामा ग्यास बुलेट भित्रिन थालेकाले आपूर्ति सहज हुने बताउनुभयो।
कृष्णभिरमा पहिरो गएर पृथ्वी राजमार्ग अवरुद्ध भएपछि वैकल्पिक मार्गबाट ग्यास ल्याउँदा लागत बढेकाले मूल्य रु दुई हजार १६५ पुगेको थियो। बाटो खुलेसँगै बुलेटबाट ग्यास आउन थालेपछि पुरानै मूल्य कायम गरिएको हो।
नेपाल आयल निगमका अनुसार बुधबार कृष्णभिरबाट २५ वटा ग्यास बुलेट पास भएका छन्। एउटा बुलेटमा करिब एक हजार २५० सिलिन्डर ग्यास आउने गर्छ। निगमका एलपी ग्यास विभाग प्रमुख विनितमणि उपाध्यायले अब बुलेटमार्फत नियमित आपूर्ति हुन थालेपछि बजारमा देखिएको अभाव हट्ने बताउनुभयो।
आपूर्ति व्यवस्थापन महाशाखाका सहसचिव जितेन्द्र बस्नेतका अनुसार भारतबाट थप १६० वटा एलपी ग्यास बुलेट उपलब्ध गराउन सकारात्मक प्रतिक्रिया आएको छ। उहाँले मासिक ६० हजार मेट्रिक टनभन्दा बढी ग्यास आपूर्ति गर्ने गरी पहल भइरहेको जानकारी दिनुभयो।

