नुवाकोटमा बाढीले बगाएर ल्याएका दुई लकरको सनाखत हुन सकेन
नुवाकोट, असोज १ । भोटेकोशी नदी हुँदै त्रिशूली नदीमा आएको भीषण बाढीले बगाएर ल्याएका दुई वटा लकर जिल्ला प्रहरी कार्यालय नुवाकोटले फेला पारेको छ।
भदौ १० गते आएको बाढीपछि खोज तथा उद्धारमा खटिएको प्रहरीले लकर फेला पारी जिल्ला प्रहरी कार्यालयको निगरानीमा सुरक्षित राखेको जनाएको छ। हालसम्म ती लकरको सनाखत भने हुन नसकेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार एउटा लकर विदुर नगरपालिका–३ स्थित छत्रेखोलामा र अर्को सेतो रङको लकर विदुर नगरपालिका–३ बुद्धसिंह घाट, मैरिटारमा फेला परेको हो।
लकर आफ्नो भएको दाबी गर्ने सम्बन्धित व्यक्तिले तस्बिरमार्फत पहिचान गरी पहिचान खुल्ने आवश्यक कागजात तथा सामग्रीसहित जिल्ला प्रहरी कार्यालय नुवाकोटमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

