विपद्पछिको पुनर्निर्माणसहित आर्थिक सहकार्यका विषयमा छलफल गर्न अर्थमन्त्री वाग्ले भारत प्रस्थान



काठमाडौँ, असोज १ । अर्थमन्त्री डा स्वर्णिम वाग्ले तीनदिने भारत भ्रमणका लागि आज नयाँदिल्ली प्रस्थान गर्नुभएको छ । भारत सरकारको निमन्त्रणामा उहाँ बिहान ७ः३५ बजेको उडानबाट काठमाडौँबाट नयाँदिल्ली प्रस्थान गर्नुभएको हो ।

भ्रमणका क्रममा विपद्पछिको पुनर्निर्माण तथा नेपाल–भारतबीचको आर्थिक, राजनीतिक र कूटनीतिक सम्बन्धका विभिन्न आयाममा सहकार्यका विषयमा छलफल हुने अर्थमन्त्रीको सचिवालयले जनाएको छ ।

भ्रमणका क्रममा अर्थमन्त्री वाग्लेले आज साँझ भारतीय अर्थमन्त्री निर्मला सीतारमणसँग भेटवार्ता गर्नुहुनेछ । शुक्रबार बिहान भारतका पूर्वविदेशसचिव श्याम शरणले आयोजना गर्ने उच्चस्तरीय कूटनीतिक संवाद कार्यक्रममा उहाँ प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । शुक्रबार साँझ भारतीय विदेशमन्त्री डा एस जयशङ्करसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।

त्यसैगरी, शुक्रबार साँझ भारत व्यापार प्रवर्द्धन सङ्गठनका अध्यक्ष जावेद अश्राफले आयोजना गर्ने बृहत् भेटघाट कार्यक्रममा अर्थमन्त्री वाग्ले सहभागी हुनुहुनेछ । शनिबार बिहान भारतीय उद्योग परिसङ्घले आयोजना गर्ने प्रतिष्ठित औद्योगिक घरानासँगको सम्मेलनमा उहाँ प्रमुख वक्ताका रूपमा सहभागी हुने कार्यक्रम छ ।

शनिबार बिहानै दिल्ली स्कुल अफ इकोनोमिक्सले आयोजना गर्ने विकास अर्थनीतिसम्बन्धी प्राज्ञिक छलफलमा पनि अर्थमन्त्री वाग्ले प्रमुख अतिथिका रूपमा सहभागी हुनुहुनेछ । उहाँ शनिबार साँझ ४ बजे स्वदेश फर्कने कार्यतालिका रहेको छ ।

अर्थमन्त्री वाग्लेको भ्रमण टोलीमा अर्थ मन्त्रालयका सहसचिव अमृत लम्साल, परराष्ट्र मन्त्रालयका सहसचिव गेहेन्द्रराज भण्डारी, नयाँदिल्लीस्थित नेपाली राजदूतावासका उपनियोग प्रमुख डा सुरेन्द्र थापा, इकोनोमिक्स मिनिस्टर तारानाथ अधिकारी र अर्थमन्त्रीका निजी उपसचिव कञ्चन बस्नेत सहभागी हुनुहुन्छ ।

प्रतिक्रिया दिनुहोस्