भोटेकोशी बाढीमा यातायात व्यवसायी महासङ्घका १९१ सवारीसाधनमा क्षति, ३४४ बेपत्ता
काठमाडौँ, असोज १ गते । गत भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीमा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घअन्तर्गत विभिन्न कम्पनीका १९१ सवारीसाधनमा क्षति पुगेको छ । बाढीमा ती सवारीसाधनका चालक, सहचालक र यात्रुसहित ३४४ जना बेपत्ता भएको महासङ्घले जनाएको छ ।
महासङ्घका महासचिव डेकनाथ गौतमका अनुसार बाढीबाट देशभरका नौ यातायात कम्पनीका बस, ट्रक, कन्टेनर, जीप, टिपर, माइक्रोबसलगायत सवारीसाधनमा क्षति पुगेको हो । महासङ्घका अनुसार नेपाल अरनिको यातायात सेवा प्रालिका १९ बस, एक मिनिट्रक, दुई जीप र चार कन्टेनरमा क्षति पुग्दा ५० मजदुर बेपत्ता भएका छन् । नमस्ते पासाङ ल्हामु यातायात प्रालि बालाजुका १९ बसमा क्षति पुग्दा २१ जना बेपत्ता भएका छन् भने भक्तपुर न्यू भिजन यातायात प्रालिका दुई कन्टेनरमा क्षति पुग्दा दुई चालक बेपत्ता भएका छन् ।
त्यसैगरी हिमालयन यातायात कम्पनीका चार ट्रक, १६ कन्टेनर र एक सुमोमा क्षति पुग्दा १० चालक बेपत्ता भएका छन् । नेपाल टिपर तथा ट्रक व्यवसायी समितिअन्तर्गत सात टिपर, २२ कन्टेनर, २३ ट्रक र एक ट्रेलरमा क्षति पुग्दा ४५ चालक बेपत्ता भएका छन् ।नारायणी यातायात व्यवसायी कम्पनी प्रालिका ५९ ट्रक तथा कन्टेनरमा क्षति पुग्दा ७० जना बेपत्ता भएका छन् । नेपाल माइक्रो कम्पनीका नौ माइक्रोबसमा क्षति पुगेको महासङ्घले जनाएको छ ।
पृथ्वी राजमार्ग सञ्चालक कम्पनीको एक बसमा क्षति पुग्दा एक चालक र २२ यात्रु बेपत्ता भएका छन् । धादिङ मण्डली यातायात प्रालिको एक बसमा क्षति पुग्दा एक चालक र २५ तीर्थयात्री बेपत्ता भएको महासचिव गौतमले बताउनुभयो ।
महासङ्घले भोटेकोशी बाढीबाट यातायात क्षेत्रमा भएको क्षतिको विवरण सङ्कलन तथा प्रभावित व्यवसायी, चालक, सहचालक र यात्रुको अवस्थाबारे थप खोजी भइरहेको जनाएको छ ।

