भोटेकोशी बाढी प्रभावितलाई विद्युत् महसुलमा तत्काल राहत
काठमाडौँ, असोज १ । भोटेकोशी बाढीबाट प्रभावित रसुवा, नुवाकोट र धादिङका परिवार तथा व्यवसायीलाई सरकारले विद्युत् सेवामा तत्काल राहत दिने भएको छ । बाढीबाट घर, व्यवसाय तथा उद्योगमा क्षति पुगेका ग्राहकलाई विद्युत् महसुल तथा मिटरसम्बन्धी सेवामा सहुलियत उपलब्ध गराउने निर्णय गरिएको हो ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठले विपद्का बेला प्रभावित नागरिकलाई राज्यको तर्फबाट राहतको अनुभूति दिलाउने उद्देश्यले विद्युत् सेवामा सहुलियत दिन लागिएको बताउनुभयो ।
उहाँले ‘छिमेकीलाई हाम्रो साथ’ भन्ने भावनाअनुसार अन्य ग्राहकबाट भुक्तानी भएको शुल्कसमेत प्रभावित परिवारको राहतमा उपयोग हुनेगरी आवश्यक निर्णय अघि बढाइएको जानकारी दिनुभयो ।
उहाँका अनुसार नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको बैठकले भोटेकोशी नदीमा आएको आकस्मिक बाढीबाट क्षति पुगेका ग्राहकका हकमा भदौ महिनादेखिको न्यूनतम विद्युत् बिलिङ नगर्ने निर्णय गरेको छ । क्षतिग्रस्त घर, व्यवसाय तथा उद्योगलगायतका ग्राहकको विद्युत् मिटरको लगत कट्टासमेत गरिने भएको छ ।
मिटरको लगत कट्टा गरिएका प्रभावित ग्राहकले पुनः विद्युत् सेवा लिन नयाँ मिटर माग गरेमा प्राधिकरणले निःशुल्क मिटर उपलब्ध गराउने निर्णय गरेको छ । यसबाट बाढीका कारण घर तथा व्यवसाय गुमाएका ग्राहकलाई विद्युत् सेवा पुनः सञ्चालन गर्न सहज हुने अपेक्षा गरिएको छ ।
त्यसैगरी बाढी प्रभावित क्षेत्रका ग्राहकलाई विद्युत् महसुलमा थप सहुलियत वा छुट दिने विषयमा अध्ययन गर्न प्राधिकरण व्यवस्थापनलाई निर्देशन दिइएको छ । बाढीबाट प्रभावित १५ पालिकामा अवरुद्ध विद्युत् सेवा पुनः सञ्चालनको क्रममा रहेकाले प्रभावित ग्राहकलाई कति सहुलियत वा छुट दिन सकिन्छ भन्नेबारे अध्ययन गरी प्रस्ताव पेश गर्न भनिएको छ ।
प्राधिकरणले अध्ययनका आधारमा यसै साता विद्युत् महसुलमा दिइने थप सहुलियत तथा छुटको टुंगो लगाउने तयारी गरेको छ । बाढीका कारण विद्युत् पूर्वाधारसँगै घर, उद्योग, व्यवसाय तथा अन्य संरचनामा क्षति पुगेका नागरिकलाई विद्युत् सेवासँग सम्बन्धित तत्कालीन आर्थिक भारबाट समेत राहत दिलाउने उद्देश्यले सहजीकरण अघि बढाइएको हो ।

