बाढी प्रभावित पत्रकारलाई महासङ्घको एक–एक लाख सहयोग
नुवाकोट,असोज १ । नेपाल पत्रकार महासङ्घ बागमती प्रदेश समितिले भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित पत्रकार तथा उनीहरूका परिवारलाई जनही एक लाख रुपियाँका दरले आर्थिक सहयोग गरेको छ ।
महासङ्घ बागमती प्रदेशका अध्यक्ष कृष्ण सारूमगरका अनुसार रसुवाका नीराजन पौडेल, नुवाकोटका किरण अधिकारी र सन्नी श्रेष्ठ, धादिङका विपिन मल्ल तथा बाढीमा बेपत्ता नुवाकोटका पत्रकार राजकुमार नेपालीका परिवारलाई आर्थिक सहयोग गरिएको हो ।
भदौ १० गते रसुवास्थित भोटेकोशी नदीमा आएको भीषण बाढीबाट पत्रकार तथा उनीहरूका परिवारसमेत प्रभावित भएका थिए । महासङ्घले प्रभावित पत्रकार तथा परिवारको अवस्थाका आधारमा सम्बन्धित शाखामार्फत तथा प्रत्यक्ष भेटेर सहयोग रकम हस्तान्तरण गरेको जनाएको छ ।
बाढीमा परी पत्रकार नीराजन पौडेलले बुबाआमा, काकाकाकी र बहिनीसहित परिवारका पाँच सदस्य गुमाउनुभएको छ । रातोपाटी अनलाइनमा कार्यरत पौडेल नेपाल पत्रकार महासङ्घ रसुवा शाखाका सदस्य हुनुहुन्छ । उहाँको स्थायी घर नुवाकोटको विदुर–७, तुप्चे रहेको महासङ्घले जनाएको छ ।
महासङ्घ बागमती प्रदेशका अध्यक्ष सारूमगरको अगुवाइमा नुवाकोट शाखाका अध्यक्ष रामहरि गजुरेल, रसुवा शाखाका अध्यक्ष केशव पौडेल र धादिङ शाखाका अध्यक्ष सीताराम अधिकारीलगायतको समन्वयमा प्रभावित पत्रकार तथा परिवारलाई भेटेर सहयोग गरिएको हो ।
महासङ्घका अनुसार बाढीका कारण पत्रकारका घरपरिवारमा क्षति पुग्नुका साथै उनीहरू कार्यरत सञ्चारमाध्यमसमेत प्रभावित भएका छन् । सडक तथा यातायात अवरुद्ध हुँदा समाचार सङ्कलनमा कठिनाइ हुनुका साथै विद्युत् र इन्टरनेट सेवा प्रभावित हुँदा समाचार सम्प्रेषणमा समस्या भएको र सञ्चार उपकरणमा समेत क्षति पुगेको महासङ्घले जनाएको छ ।

