परम्परागत खेती छाडेर अकबरेतर्फ आकर्षित रिब्दीकोटका किसान
पाल्पा,असोज १ I पाल्पाको रिब्दीकोट गाउँपालिकालाई अहिले अकबरे खुर्सानी खेतीको पालिका भनेर चिनिन थालेको छ ।
यहाँका किसानले अकबरे खुर्सानी खेतीबाट राम्रो आम्दानी लिन थालेका छन् । यहाँका किसानको आम्दानीको महत्वपूर्ण आधार अकबरे खुर्सानी बन्दै गएको छ । पछिल्लो समय गाउँपालिकाका विभिन्न क्षेत्रमा व्यावसायिक रूपमा अकबरे खुर्सानी खेती विस्तार भएपछि किसानको आयआर्जनमा सुधार आएको छ ।
परम्परागत कृषि प्रणालीबाट अपेक्षित आम्दानी हुन नसकेका किसानका लागि अकबरे खुर्सानी वैकल्पिक नगदे बालीका रूपमा स्थापित हुँदै गएको छ । थोरै क्षेत्रफलमा समेत व्यावसायिक उत्पादन गर्न सकिने र बजारमा माग राम्रो भएकाले किसान अकबरे खेतीतर्फ आकर्षित भएका छन् ।
रिब्दीकोटका विभिन्न वडामा किसानले पाखो जमिनमा समेत अकबरे खुर्सानी लगाउँदै आएका छन् । उत्पादन भएको खुर्सानीको बजारीकरण रिब्दीकोट गाउँपालिकाले गरिदिँदै आएको छ । यसबाट किसानले परम्परागत बालीको तुलनामा राम्रो आम्दानी लिन थालेका छन् । तथ्यांकअनुसार रिब्दीकोटमा एक आर्थिक वर्षमा मात्रै अकबरे खुर्सानीबाट करिब ७ करोड ७५ लाख रुपैयाँ बराबरको कारोबार भएको छ । अकबरे खुर्सानीले किसानको आम्दानी बढाउनुका साथै स्थानीय कृषि उत्पादनलाई ठूला उद्योग र बजारसँग जोड्ने आधारसमेत तयार गरेको छ ।
अकबरे खुर्सानी खेती विस्तारमा गाउँपालिकाले विभिन्न सहयोग गर्दै आएको छ । गाउँपालिकाको कृषि शाखाका अनुसार किसानलाई बीउ, प्राविधिक सहयोग, तालिम, नर्सरी व्यवस्थापन, काँटछाँट तथा रोग–कीरा व्यवस्थापनसम्बन्धी सहयोग हुँदै आएको छ । पालिकाले अकबरेको न्यूनतम मूल्य निर्धारणमा समेत सहजीकरण गरेको छ । किसानले प्रतिकेजी २२० रुपैयाँ मूल्य पाएका छन् ।
अकबरे खुर्सानीबाट नियमित आम्दानी हुन थालेपछि घरायसी खर्च, शिक्षा, स्वास्थ्य तथा अन्य आवश्यकताका लागि समेत सहयोग पुगेको किसानहरूको भनाई छ । रिब्दीकोटमा अकबरे खुर्सानीको उत्पादन बढ्दै गएसँगै यसको सङ्कलन, भण्डारण, प्रशोधन र बजारीकरणलाई व्यवस्थित बनाउनुपर्ने आवश्यकता देखेर पालिकाले सङ्कलन केन्द्र स्थापना गरेको छ ।
उत्पादनको समयमा मूल्य घट्ने र बिचौलियाका कारण किसानले अपेक्षित मूल्य नपाउने समस्या समाधान गर्न बजार सुनिश्चित गर्नुपर्ने किसानको माग छ । अबको चुनौती उत्पादन बढाउनु मात्र नभई किसानले उत्पादनको उचित मूल्य पाउने, बजार सुनिश्चित हुने र अकबरे खुर्सानीलाई रिब्दीकोटको स्थानीय ब्रान्डका रूपमा स्थापित गर्ने हो । उत्पादन बढाउनेसँगै गुणस्तर, भण्डारण, प्रशोधन, मूल्य स्थिरता र बाह्य बजार विस्तारमा ध्यान दिन सके रिब्दीकोटको अकबरे खुर्सानी स्थानीय पहिचान मात्र नभई महत्वपूर्ण व्यावसायिक कृषि ब्राण्ड बन्न सक्ने देखिन्छ ।

