रसुवा–भोटेकोशी–त्रिशूली विपद्बारे संसदीय विशेष समिति गठनको तयारी



काठमाडौँ, असोज १ गते । रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा भएको विपद् तथा जलवायु परिवर्तनका विषयमा संसदीय विशेष समिति गठन गर्नेबारे संसद्मा प्रतिनिधित्व गर्ने राजनीतिक दलका संसदीय दलका नेता, उपनेता तथा प्रमुख सचेतकबीच छलफल भइरहेको छ ।

राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का मुख्य सचेतक कविन्द्र बुर्लाकोटीका अनुसार बुधबार सम्पन्न सर्वदलीय बैठकमा भएको छलफलअनुसार विशेष समिति गठनका लागि आज प्रारम्भिक परामर्श भइरहेको हो ।

सिंहदरबारस्थित शिक्षा समितिको हलमा जारी छलफलमा विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापनका लागि संसदीय विशेष समिति गठन गर्ने विषयमा दलहरूबीच आवश्यक परामर्श भइरहेको छ ।

रसुवा–भोटेकोशी–त्रिशूली क्षेत्रमा हालै आएको भीषण बाढी तथा त्यसबाट भएको जनधनको क्षति, विपद् जोखिम न्यूनीकरण र जलवायु परिवर्तनका प्रभावलगायत विषयलाई संसदीय तहबाट अध्ययन तथा अनुगमन गर्ने उद्देश्यले विशेष समिति गठन गर्ने विषय अघि बढाइएको हो ।

प्रतिक्रिया दिनुहोस्