कार्यसम्पादन उत्कृष्ट बनाउन पञ्चकन्यामा मासिक उत्कृष्ट कर्मचारी सम्मान



नुवाकोट,असोज १ । नुवाकोटको पञ्चकन्या गाउँपालिकाले गाउँपालिकाको कार्यसम्पादनलाई थप प्रभावकारी र उत्कृष्ट बनाउने उद्देश्यले सुरु गरेको मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमअन्तर्गत भदौ महिनाका उत्कृष्ट कर्मचारीलाई सम्मान गरेको छ।

गाउँपालिका अध्यक्ष तेजबहादुर तामाङको अध्यक्षतामा बिहीबार सम्पन्न कार्यक्रममा प्रमुख प्रशासकीय अधिकृत हिराधन राईसहित गाउँपालिकाका सबै कर्मचारीको उपस्थिति रहेको थियो।

आर्थिक वर्ष २०८३/८४ देखि सुरु गरिएको मासिक उत्कृष्ट कर्मचारी सम्मान कार्यक्रमअन्तर्गत भदौ महिनाको उत्कृष्ट कर्मचारीका रूपमा पूर्वाधार विकास शाखामा कार्यरत सब–इन्जिनियर मिलन कार्की छनोट हुनुभएको हो।

गाउँपालिकाले कर्मचारीको कार्यसम्पादन, जिम्मेवारीप्रतिको प्रतिबद्धता र सेवा प्रवाहमा उत्कृष्टता अभिवृद्धि गर्ने उद्देश्यले हरेक महिना उत्कृष्ट कर्मचारी छनोट गरी सम्मान गर्ने जनाएको छ। सम्मान कार्यक्रमले कर्मचारीलाई थप जिम्मेवार, उत्तरदायी र सेवामुखी बनाउन प्रेरणा पुग्ने गाउँपालिकाको अपेक्षा छ।

प्रतिक्रिया दिनुहोस्