भोटेकोशी बाढीमा बेपत्ता प्राधिकरणका कर्मचारीका परिवारलाई राहत प्याकेज
काठमाडौं,असोज १ । नेपाल विद्युत् प्राधिकरणले भोटेकोशी बाढीमा बेपत्ता भएका कर्मचारी तथा कामदारका परिवारका लागि तत्कालीन राहत प्याकेज घोषणा गरेको छ। बाढीबाट १३ वटा जलविद्युत् आयोजनामा क्षति पुगेको र प्राधिकरणअन्तर्गत मात्रै ४७ जना कर्मचारी तथा कामदार बेपत्ता भएको जनाइएको छ।
ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराजभक्त श्रेष्ठको अध्यक्षतामा बसेको प्राधिकरण सञ्चालक समितिको बैठकले बेपत्ता कर्मचारी तथा कामदारका आश्रित परिवारलाई खोजी कार्य, आफ्नो कुल धर्मअनुसारको सामाजिक संस्कार तथा जीवनयापनमा सहयोग पुर्याउने उद्देश्यले राहत उपलब्ध गराउने निर्णय गरेको हो।
सञ्चालक समिति सदस्य अंशुकिरण शाहीका अनुसार राहत प्याकेज तत्काल कार्यान्वयनमा ल्याइनेछ। निर्णयअनुसार पहिलो चरणमा बेपत्ता भएका स्थायी कर्मचारी, ज्यालादारी तथा सेवा करारका कामदारका नजिकका हकवालालाई प्रतिकर्मचारी वा कामदार ५० हजार रुपैयाँका दरले तत्काल राहत उपलब्ध गराइनेछ।
त्यस्तै, स्थायी कर्मचारीका हकमा प्राधिकरणबाट क्षतिपूर्ति वा अन्य रकम उपलब्ध गराउने सम्बन्धमा अर्को निर्णय नभएसम्म वा बढीमा ६ महिनासम्मका लागि निर्वाह रकम उपलब्ध गराउने निर्णय भएको छ। भदौ महिनादेखि लागू हुने गरी बेपत्ता स्थायी कर्मचारीको तहको सुरु तलब स्केलको ५० प्रतिशत रकम नजिकका हकवालालाई मासिक रूपमा उपलब्ध गराइनेछ।
प्राधिकरणले बाढीबाट प्रभावित जलविद्युत् आयोजनामा कार्यरत बेपत्ता कर्मचारी तथा कामदारका परिवारलाई तत्काल राहत उपलब्ध गराउनुका साथै उनीहरूको खोजी तथा सामाजिक संस्कारका लागि समेत सहयोग गर्ने जनाएको छ।

