शिक्षक सेवा आयोगलाई प्रभावकारी र नतिजामुखी बनाउन मन्त्री पोखरेलको निर्देशन
काठमाडौं,असोज १ । शिक्षा तथा खेलकुदमन्त्री सस्मिता पोखरेलले शिक्षक सेवा आयोगको कामकारबाहीलाई प्रभावकारी र नतिजामुखी बनाउन नवनियुक्त पदाधिकारीलाई निर्देशन दिनुभएको छ।
सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा शिक्षक सेवा आयोगका अध्यक्ष डा. हरिप्रसाद लम्सालसहित नवनियुक्त पदाधिकारीसँग भएको छलफलमा मन्त्री पोखरेलले शिक्षक भर्ना, बढुवा, पाठ्यक्रम सुधार तथा आयोगसम्बन्धी ऐन–नियमावलीलाई समयसापेक्ष परिमार्जन गर्नुपर्नेमा जोड दिनुभयो। उहाँले विद्यालयमा शिक्षक दरबन्दी मिलान, परीक्षा प्रणालीमा सुधार र समयमै परीक्षाफल प्रकाशनलाई प्राथमिकतामा राख्न आग्रह गर्नुभयो।
मन्त्री पोखरेलले विद्यालय शिक्षा ऐन निर्माणको प्रक्रिया अघि बढिरहेको जानकारी दिँदै आगामी ऐनमा शिक्षक सेवा आयोगसँग सम्बन्धित विषयसमेत समेटिने विश्वास व्यक्त गर्नुभयो। शिक्षक व्यवस्थापनलाई व्यवस्थित बनाउन आयोगको भूमिका थप प्रभावकारी हुनुपर्ने उहाँको भनाइ थियो।
हालै बसेको मन्त्रिपरिषद् बैठकले भक्तपुरका डा. हरिप्रसाद लम्साललाई शिक्षक सेवा आयोगको अध्यक्ष तथा मकवानपुरका रामशरण सापकोटा र काठमाडौँका विष्णु घिमिरे रिमाललाई सदस्यमा नियुक्त गर्ने निर्णय गरेको थियो।
आयोगका अध्यक्ष डा. लम्सालले आयोगलाई गतिशील र नतिजामुखी बनाउन काम सुरु गरिसकेको बताउनुभयो। आयोगको प्रभावकारिता र शिक्षक व्यवस्थापन सुधारका लागि नीतिगत तथा संरचनागत सुधार आवश्यक रहेको उल्लेख गर्दै उहाँले त्यसतर्फ आयोगले पहल थालेको जानकारी दिनुभयो।
छलफलमा मन्त्रीको सचिवालय तथा मन्त्रालयका उच्च अधिकारीहरूको समेत उपस्थिति थियो।

